बेशाख २१ धनगढी । सुदूरपश्चिम प्रदेशमा सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा सर्पदंश उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्म सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गता ५० प्रतिशतले घटाउने सरकारी लक्ष्य अनुसार अस्पताल देखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म उपचार सेवा विस्तार गरिने भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजना अनुसार डडेलधुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र तथा बाजुराको कोल्टी आधारभूत अस्पतालमा सर्पदंश उपचार सेवा विस्तार गरिने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक डाः खगेन्द्र बमले उपचार सेवा प्रभावकारी बनाउन चिकित्सक तथा आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई दुई दिने विशेष तालिम समेत सञ्चालन गरिएको बताए । ग्रामीण तथा दुर्गम क्षेत्रमा समयमै उपचार नपाउँदा बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको बताउदै उनले त्यसको अन्त्य गर्न सर्पदंश उपचार सेवा विस्तार गरिने बताए ।
निर्देशनालयको तथ्याङ्क अनुसार डडेलधुराको परशुराम नगरपालिका, बैतडीको तल्लो स्वराड, पाटन, गोकुलेश्वर तथा डोटी क्षेत्रमा विगतमा सर्पदंशका कारण मृत्युका घटना हुने गरेका छन् । जिल्ला सदरमुकाम स्थित अस्पतालमा भने सर्पदंश उपचार सेवा निरन्तर सञ्चालनमा रहेको जानकारी गराईएको छ ।
सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका पनि महत्त्वपूर्ण रहेको बताइएको छ । कैलालीको बडैपुर र कञ्चनपुरको अर्जुनीमा सेनाले सञ्चालन गरेका उपचार केन्द्रबाट नागरिकले प्रभावकारी सेवा पाइरहेका छन् । सेना र सरकारी अस्पताल बीचको समन्वयले सर्पदंश व्यवस्थापन थप प्रभावकारी बनेको स्वास्थ्यकर्मीहरूले बताएका छन ।
महाकाली प्रादेशिक अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डाः अर्जुन भट्टले अस्पतालमा विगत पाँच वर्ष देखि सर्पदंशका कारण हुने मृत्युदर शून्य रहेको बताए । पछिल्लो छ महिनामा विषालु सर्पले टोकेका ३२ जना बिरामी उपचारका लागि आएकोमा सबैको सफल उपचार गरिएको उनले जानकारी गराए ।
त्यसैगरी भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले भौगोलिक विकटता, जनचेतनाको कमी तथा झारफुक र घरेलु उपचारमा अल्झिने प्रवृत्तिका कारण बिरामीको मृत्यु हुने गरेको बताए । बिरामीलाई सकेसम्म छिटो उपचार केन्द्रमा पुर्याउनु सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए ।
ग्रामीण क्षेत्रमा एम्बुलेन्स भन्दा मोटरसाइकल मार्फत बिरामीलाई छिटो अस्पताल पुर्याउन सकिने भएकाले यो उपाय प्रभावकारी हुन सक्ने उनले सुझाव दिए । साथै जथाभाबी सर्प मार्दा पारिस्थितिक प्रणालीमा असर पर्ने भएकाले सर्पबाट बच्ने उपाय अपनाउँदै सुरक्षित दूरी कायम गर्न उनले आग्रह गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले सरकारको सन् २०३० को लक्ष्य पूरा गर्न स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विकास, ‘एन्टिस्नेक भेनम’को सहज उपलब्धता र स्वास्थ्यकर्मीलाई निरन्तर तालिम आवश्यक रहेको बताएका छन् ।


