बैशाख २१ बझाङ । विद्यार्थीहरु यार्सा टिप्न हिडे पछि बझाङका दर्जनौं विद्यालय बन्द गरिएका छन् । सरकारले देशव्यापी विद्यालय भर्ना अभियान चलाइरहेका बेला सबै विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि बझाङका दर्जनौं विद्यालय बन्द गरिएका हुन । सुर्मा र साइपाल गाउँपालिकाका सबै विद्यालय र तलकोट, मस्टा, केदारस्युँ गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी क्षेत्रका विद्यालय जेठ मसान्त सम्मका लागि बन्द गरिएका छन ।
उक्त क्षेत्रका ५० भन्दा बढी विद्यालय बन्द रहेको स्थानीयले बताएका छन् । ती विद्यालयमा असार १ देखि विद्यार्थी भर्ना सुरु हुने बताईएको छ । साइपालको काँडा माध्यामकि विद्यालयका शिक्षक जीवन बोहराले ेआम्दानीको मुख्य स्रोत यार्सा भएकाले यस सिजनमा ७ देखि ८ वर्षका बालबालिका देखि हिँड्न सक्ने वृद्धवृद्धा सम्म सबै लेकतर्फ लागेको बताए । विद्यालय बन्द भएपछि विद्यार्थीसँगै शिक्षक पनि यार्र्सा संकलनका लागि पाटनतिरै उक्लिन थालेको बताउदै उनले आफु पनि एक÷दुई दिनमै लेक जाने तयारीमा रहेको बताए ।
स्कुल बन्द भएका बेला घरमै बस्नु भन्दा लेकतिर गयो भने आम्दानी हुने बताउदै उनले अन्य पालिकामा घर भएका धेरैजसो शिक्षक पनि विद्यार्थीसँगै लेक पुग्ने गरेको बताए । अभिभावकसँगै विद्यार्थी पाटनतिर गएकाले असार १ देखि भर्ना सुरु गरिने साइपाल गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख ज्ञानबहादुर बोहराले बताए । सुर्मा गाउँपालिकामा पनि असार १ गतेबाट मात्र विद्यार्थी भर्ना गर्ने योजना रहेको बताईएको छ ।
उक्त क्षेत्रका विद्यालय हरेक वर्ष यार्सा संकलनको सिजनमा डेढ÷दुई महिना बन्द हुने गरेका छन् । यस अवधिको बिदालाई बर्खे बिदासित मिलान गरिने साइपालका शिक्षा शाखा प्रमुख बोहराले जानकारी गराए । निरन्तर हिउँ झर्दा यार्सा संकलनका लागि पाटन जाने यात्रा थप सकसपूर्ण बनेको उनले बताए । ‘बाटोभरि हिउँ भएको बताउदै उनले हिउँ नभएको बेला दुई दिनमै पाटन पुगिने भए पनि यस पटक तीन दिन लागेको बताए ।
आफन्त र छिमेकी सहित हिउँ छिचोल्दै स्याङवन पाटन पुगेका साइपाल गाउँपालिका वडा नम्बर–४ का टसी तामाङले हिउँले गर्दा बाटो पनि चिप्लो र डरलाग्दो भएको बताए । भीर, पहरा र चट्टानको अप्ठ्यारो बाटो हिउँले गर्दा झन् जोखिमपूर्ण भएको उनले बताए । बच्चा र महिलालाई झन् गाह्रो भएको बताउदै उनले बल्लबल्ल पाल हाल्ने ठाउँमा पुगेको बताए । वैशाख सुरुदेखि यार्सा संकलनका लागि पाटन पुगिसक्ने टसीजस्तै बझाङका संकलक निरन्तर हिमपातका कारण दुई साता ढिलो गरी पाटनतर्फ गइरहेका छन् ।
मौसम सफा भए एक÷दुई दिनमै हिउँ पग्लिएर राम्रो यार्सा पाइने आशामा उनीहरू जोखिम मोलेरै पाटन गइरहेका हुन् । चैत्र अन्तिमतीर बन्दोबस्तीका सामान पु¥याएर गाउँ झरेका संकलकहरू मौसम सफा हुने आशामा गाउँमै बसेका थिए । ‘साइपालको राइढुगी पाटन हिँडेकी धलौनकी धनसरा बोहराले किरा बढी पाइने बेला यही भएको बताउदै घाम लाग्यो भने हिउँ पग्लिहाल्ने बताईन ।
मौसम सफा हुन्जेल पालमै बस्ने बताउदै उनले हिउँ पग्लिने बित्तिकै किरा खोजौंला भनेर हिँडेको बताईन । वैशाख पहिलो साता नै पाटन पुगेका केहीले भने यार्र्सा खोज्न थालिसकेको उनले जानकारी गराईन । साइपाल मात्र नभएर यस वर्ष तलकोट, सुर्मा, मस्टा, छबिस पाथीभेरा, दुर्गाथली गाउँपालिका, बुंगल तथा जयपृथ्वी नगरपालिकाका अधिकांश संकलकहरू ढिलो गरी यार्सा टिप्न निस्केको उनले बताईन । स्थानीयवासी परिवार सहित लेकतिर लागेपछि उत्तरी क्षेत्रका गाउँ सुनसान देखिन थालेका छन् ।
उनीहरू पाटनमा आवश्यक पर्ने त्रिपाल, टेन्ट सहित खाद्यान्न लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्री सहित जाने गरेका छन । भेडा, घोडा, खच्चड हुनेहरूले चौपायाबाट र नहुनेले बोकेरै सामान संकलन क्षेत्रमा पु¥याउने गरेका छन । धेरैजसो संकलकका घरबाट केही व्यक्ति चैत्र अन्तिमतीर नै पाटन गएर बास बस्नका लागि पाल गाड्ने तथा दाउराको जोहो गर्ने काम गरिसके पछि परिवारका अन्य सदस्य लेक उक्लिने गरेका छन ।
यार्सा संकलनको समयमा जिल्लाको उत्तरी भेगबाट धनगढी, महेन्द्रनगर, काठमाडौं लगायतका ठाउँमा काम विशेष र अध्ययनका लागि गएका मानिस पनि फर्कने गरेका छन् । यस अवधिमा अल्पकालीन रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएका स्थानीय पनि आउने गरेको तलकोटका वीरेन्द्र रोकायले बताए ।
उत्तरी क्षेत्रका सबै गाउँका स्थानीय वैशाख देखि असार सम्म यार्सा संकलन क्षेत्रमा बस्ने गरेका छन । गाउँमा अशक्त, वृद्धवृद्धा, नवसुत्केरी महिला, हिँडडुल गर्न नसक्ने बालबालिका मात्र रहेका छन । साइपाल गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्र धामीले धेरैजसो लेक उक्लिसकको बताउदै बाँकी रहेका केही परिवार पनि जाने तयारीमा रहेको बताए । दुई÷चार दिनमा पुरै गाउँ खाली भइसक्ने उनले बताएका छन ।


