बैशाख २१ डडेल्धुरा । डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिका वडा नम्बर–१ मालम गाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना एक दशक देखि अलपत्र अवस्थामा रहेको छ । व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानको उत्पादन बजार सम्म पु¥याउन करिब एक दशक अघि निर्माण सुरु गरिएको स्याउले–दगोडा–मालम कृषि सडक एक दशक देखि अलपत्र अवस्थामा रहेको हो ।
२०७० सालमा दगोडा र मालम गाउँलाई स्याउले चोकसँग जोड्ने उद्देश्यले कृषि सडकको योजना अघि बढाई केही ट्र्याक खोलिएको भए पनि दगोडा बस्तीमुनि सम्म सडक खनेर मालम गाउँसम्म पुर्याउन नसक्दा योजना अलपत्र परेको हो । एक पटक खनिएको सडकको मर्मत–सम्भार नभएकाले हाल गाडी चल्न सक्ने अवस्था रहेको छैन । स्थानीय प्रेमबहादुर दियालले सडक मर्मतका लागि वडा अध्यक्षलाई बारम्बार जानकारी गराउँदा पनि एक दशक देखि काम हुन नसकेको बताए ।
सडक खण्डको दूरी करिब एक किलोमिटर मात्र भएको बताउदै उनले अहिले ठाउँ–ठाउँमा पहिरोले सडक भत्किएको बताए । भत्किएको भागमा पर्खाल लगाउने र बाह्रै महिना सञ्चालन योग्य बनाउन सडक सफाइका लागि अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनले बताए । सुरुमा ५० हजार देखि एक लाख रुपैयाँ सम्मका दरले दुई–तीन पटक अमरगढी नगरपालिकाको बजेटबाट सडक ट्र्याक खोलिएको उनले बताए ।
त्यसपछि भने सडक सफाइ र मर्मतका लागि बजेट नपरेको उनले बताए । मालम गाउँका दुई दर्जन भन्दा बढी घरपरिवार दगोडा क्षेत्रमा सरेर व्यावसायिक रूपमा तरकारी र फलफूल खेती गर्दै आएको बताउदै उनले सडक सञ्चालन नहुँदा एक घण्टा सम्म पिठ्युँमा कृषि उपज बोकेर उकालो बाटो हुँदै स्याउले बजार पुग्नु पर्ने बाध्यता रहेको बताए ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले डडेल्धुराको स्याउले बजार चोक सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालाई जोड्ने महत्त्वपूर्ण राजमार्ग भीमदत्त राजमार्गमा पर्ने बताउदै डडेल्धुराको बागबजार देखि पूर्व–दक्षिणतर्फ करिब तीन किलोमिटर दूरीमा रहेको स्याउले बजार चोकबाट पूर्वतर्फ डोटी, अछाम र बाजुरा जोड्ने डा. के.आई. सिंह राजमार्ग तथा उत्तरतर्फ बैतडी, दार्चुला र बझाङ जोड्ने मार्ग रहेको बताए ।
स्याउले चोकमार्फत सात वटा पहाडी जिल्ला जोडिने भएकाले मौसमी फलफूल र तरकारीको खरिद–बिक्री राम्रै हुने गरेको बताउदै उनले बजार क्षेत्रमा पसल, खोका, छाप्रा र ठेला मार्फत कृषि उपजको व्यापार भए पनि व्यवस्थित बजारको अभाव रहेको बताए ।


