बैशाख ०९ धनगढी । कैलालीका मुक्त कमैया शिविर युवाविहीन बन्न थालेका छन । जीविकोपार्जन गर्न समस्या भएपछि मुक्त कमैया शिविर युवाविहीन बन्न थालेका हुन । रोजगारीको खोजीमा शिविरका युवासहित धेरैजसो पुरुष भारतर्फ पलायन भइरहेका छन् । रोजगारीको सिलसिलामा युवासहित पुरुषहरू अन्यत्र गएपछि शिविरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै रहेका छन ।
आफ्नो ठाउँमा रोजगारीको अवसर नपाउँदा युवा कमाउनका लागि भारत लगायत यत्रतत्र गएपछि बस्ती युवाविहीन भइरहेको बर्दगोरिया गाउँपालिका वडा नम्बर–३, रानीकुण्डाका मुक्त कमैया सुकनीदेवी चौधरीले बताईन । गाउँघरतिर मजदुरीको काम नपाए पछि गुजाराका लागि भारततर्फ जानुपर्ने बाध्यता रहेको उनले बताईन । कोही रत्नागिरि, कोही मुम्बईतिर गएर काम गर्न थालेको उनले बताईन । सरकारले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा भएको उत्पादनले वर्षभरि खान नपुग्ने मुक्त कमैयाहले बताएका छन् ।
बस्तीमा पुरुष र युवा नहुँदा धेरै जसो सार्वजनिक काम वा कार्यक्रममा महिलाको मात्रै उपस्थिति रहने गरेको छ । कमाउनका लागि परदेश नगएका पुरुष पनि गाउँघरतिरै विभिन्न काम गर्न जाने गरेको रानीकुण्डा मुक्त कमैया शिविरका भलमनसा वीरबहादुर चौधरीले बताए । ऋण सापटी लिएर कोही विदेश गएको बताउदै उनले विदेश जानका लागि आर्थिक जोहो गर्न नसकेकाहरू भारततिरै गएर कमाउने गरेको बताए ।
सरकारले कमैया मुक्तिको घोषणा गरे पनि उनीहरूको जीविकोपार्जनको सवाललाई सम्बोधन गर्न सकेको छैन । मुक्तिको दुई दशक भन्दा बढी समय भइसक्दा सम्म मुक्त कमैयाले अझै पनि उचित पुनस्र्थापना, शिक्षा र रोजगारीका लागि आवाज उठाइरहेका छन् । सहर नजिक बसेका सिप सिकेका मुक्त कमैयालाई रोजागरीको त्यति समस्या नभए पनि ग्रामीण क्षेत्रका मुक्त कमैयालाई काम पाउनै गाह्रो रहेको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताएका छन ।
जीविकोपार्जनका लागि अन्य उपाय नपाए पछि उनीहरू बाध्य भएर भारततर्फ पलायन भइरहेको उनले बताए । अध्यक्ष चौधरीले कैलालीका धेरै मुक्त कमैया शिविरमा युवा र पुरुष नभेटिँने गरेको बताए । उनीहरू समूहमै भारततर्फ मजदुरी गर्न जाने गरेको बताउदै उनले चाडपर्व मनाउन आउने फेरि जाने बताए ।
पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर चौधरीले मुक्त कमैया बस्तीमा भइरहेको ‘ब्रेन ड्रेन’ रोक्न जरुरी रहेको बताए । विभिन्न उद्योग, कारखाना खोलेर मुक्त कमैया युवालाई प्राथमिकताका साथ रोजगारी दिन जरुरी भएको उनले बताए ।


