बैशाख ०९ डडेल्धुरा । डडेल्धुरामा भूतपूर्व सैनिक तथा वहालवाला सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम दिन सुरु गरिएको छ । नेपाली सेनाको कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय बोराडाँडी कैलालीद्वारा डडेल्धुरा जिल्लामा भूतपूर्व सैनिक तथा वहालवाला सैनिकका परिवारजनका लागि सातदिने प्रारङ्गिक बेमौसमी तरकारी खेती तालिम डडेल्धुरा सदरमुकाममा सुरु गरिएको हो ।
अमरगढी नगरपालिकाको सभाकक्षमा सञ्चालित तालिमको समुद्घाटन गर्दै अर्जुन वाण गण दह ब्यारेक डडेल्धुराका सेनानी सवन स्यान्ताङले स्वरोजगारी प्रवद्र्धनका लागि सात दिने तालिम प्रभावकारी हुने बताए । नेपाली सेनाले कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्र मार्फत नियमित रुपमा यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।
कार्यक्रममा भूतपूर्व सैनिक संघ डडेल्धुराका अध्यक्ष तथा कार्यक्रमका फोकल पर्सन नरेन्द्रसिंह बोहराले भूतपूर्व सैनिक र वहालवाला सैनिकका परिवारजनलाई लक्षित गरेर सञ्चालन गरिने तालिमबाट सहभागीहरुले आयमुलक काम गर्नसक्ने क्षमताको विकास हुने बताए । प्रमुख प्रशिक्षक मिना जोशीले सहभागीहरुले सात दिनसम्म सिकेका सिपहरुलाई व्यवहारमा उतारेर मुलुकलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन टेवा पुग्ने विश्वास गरिएको बताईन ।
बैशाख १२ गतेसम्म सञ्चालन हुने तालिममा कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्रका तालिम प्रतिनिधि एमपी भट्ट समेत प्रशिक्षक रहेका छन् । तालिममा २५ जना सहभागी रहेको भूतपूर्व सैनिक संघ डडेल्धुराले जानकारी गराएको छ ।


