बैशाख ०९ कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ । वैशाख ६ र ७ गते गरी दुई दिन सम्म सञ्चालन गरिएको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम (अभियान) अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको हो ।
अभियान अन्तर्गत ३७ हजार ३ सय ८२ जना बालबालिकालाई भिटामिन ‘ए’ र ३२ हजार ८ सय ९५ जना बालबालिकालाई जुकाको औषधि खुवाइएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरले अभियान सफल बनाउन जिल्लाका नौ वटै पालिकामा ८ सय १७ जना महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।
दुई दिनको अभियानमा छुटेका बालबालिकालाई आउँदो शुक्रबार सम्म नजिकको स्वास्थ्य संस्था मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने व्यवस्था मिलाइएको उनले जानकारी गराए । कुनै पनि बालबालिका छुट्न नदिन विशेष सतर्कता अपनाइएको उनले बताए ।
अभियान अन्तर्गत ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’, एक देखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि तथा छ देखि २३ महिना सम्मका बालबालिकालाई ‘बालभिटा’ वितरण गरिएको उनले जानकारी गराए ।
साथै बालबालिकाको पोषण अवस्थाको मूल्याङ्कनका लागि पाखुराको नाप समेत लिइएको उनले जानकारी गराए । सरकारले सन् १९९३ देखि भिटामिन ’ए’ र सन् २००१ देखि जुकाको औषधि खुवाउने कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको बताउदै उनले हरेक वर्ष वैशाख र कात्तिक महिनामा सञ्चालन गरिने अभियानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन, रतन्धो हुनबाट जोगाउन र कुपोषण कम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।


