बेशाख ०९ कञ्चनपुर । कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर हरिसप्रसाद जोशीले सडकमा ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न संरचनात्मक तथा दृश्यात्मक सुधारका कामहरू गर्न सडक सुरक्षा कार्यक्रम सञ्चालन गरेकोे बताए । जोखिमयुक्त तथा व्यस्त स्थानमा ट्राफिक साइनबोर्ड राख्ने, डेलिनिएटर पोस्ट जडान गर्ने र सडक पेन्टिङ गर्ने काम भइरहेको उनले बताए ।
ठेक्का प्रक्रिया मार्फत कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी गराउदै उनले पूर्वाधार निर्माण सेवा प्रालिसँग ३१ लाख १२ हजार रूपैयाँमा ठेक्का सम्झौता गरिएको बताए । सम्झौता अनुसार ५५ वटा ट्राफिक साइनबोर्ड राख्ने कार्यसँगै एक हजार २ सय १९ वटा डेलिनिएटर पोस्ट जडान तथा आवश्यकता अनुसार सडक पेन्टिङको कार्य भइरहेको उनले बताए ।
विशेषगरी रातको समयमा तथा खराब मौसममा सवारी चालकलाई मार्ग स्पष्ट देखाउन डेलिनिएटर पोस्ट र सडक पेन्टिङ अत्यन्त उपयोगी हुने उनले बताए । त्यसैगरी ट्राफिक साइनबोर्डले सवारी चालकलाई समयमै सूचना दिइ दुर्घटना जोखिम घटाउन मद्दत गर्ने अपेक्षा गरिएको उनले बताए ।
सडक सुरक्षा कार्यक्रमको मुख्य उद्देश्य तीव्र गतिमा हुने दुर्घटनालाई नियन्त्रण गर्नु, सवारीसाधन सञ्चालनलाई सुरक्षित बनाउनु र यात्रु तथा पैदलयात्रीको ज्यान जोगाउनु रहेको उनले बताए । यसले सडक प्रयोगकर्तामा ट्राफिक नियम प्रति सचेतना अभिवृद्धि गर्नुका साथै अनुशासित सवारी सञ्चालनमा पनि टेवा पु¥याउने विश्वास गरिएको उनले बताए ।
पछिल्लो समय पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डमा दुर्घटनाका घटना बढ्दै गएको बताउदै उनले कार्यक्रम प्रभावकारी हुने बताए । भौतिक पूर्वाधार सुधारका कामले दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।


