फागुन ०५ धनगढी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागी कैलाली जिल्ला क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डाक्टर आनन्द बहादुर चन्दले वाचा–पत्र सार्वजनिक गरेका छन । मंगलबार जैविक रसायन शास्त्रमा विद्यावारिधि हासिल गरेका डाक्टर चन्दले आफ्नो वाचा–पत्र सार्बजनीक गरेका हुन । उनले धनगढीलाई ‘एआई, आधुनिक स्वास्थ्य र खेलकुदको केन्द्र’ बनाउने दीर्घकालीन दृष्टिकोण अघि सारेका छन् ।
डाक्टर चन्दले वाचा–पत्रको मुख्य आधार स्वास्थ्य क्षेत्रको सुधारलाई बनाएका छन । सेती प्रादेशिक अस्पताल र दशथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एकीकृत स्वास्थ्य–शिक्षा इकोसिस्टमका रुपमा विकास गर्ने उनले प्रस्ताव अगाडी सारेका छन् । चन्दले अस्पताल सेवा र क्लिनिक अभ्यासको केन्द्र तथा विश्वविद्यालयलाई अध्ययन, अनुसन्धान र जनशक्ति उत्पादनको केन्द्रका रुपमा विकास गर्नुपर्ने योजना प्रस्तुत गरेका छन् ।
चन्दले सुदूरपश्चिमलाई चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गर्न गेटामा एमबिबिएस तथा विशेषज्ञ चिकित्सा अध्ययन अध्यापन सुरू गर्दै अनुसन्धानमा आधारित उपचार प्रणाली विकास गर्दै मुटू, मृगौला, क्यान्सर, जलन, सिकलसेल लगायतको विशिष्टीकृत उपचार सेवा सुरू गर्ने आफ्नो अजेण्डा रहेको बताएका छन् ।
सुदूरपश्चिममा व्यापक देखिने सिकलसेल एनिमिया र थालासेमियाका बिरामीका लागि निःशुल्क परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन गर्ने, टेलिमेडिसिन सेवा विस्तार गर्ने र डिजिटल स्वास्थ्य प्रणाली लागू गर्ने उनले प्रतिबद्धता जनाएका छन । साथै मातृ–शिशु स्वास्थ्य सेवा सुधार, क्यान्सर, मुटू र मिर्गौला रोगको उपचार पहुँच विस्तार तथा स्वास्थ्य बीमा कार्यक्रम सुदृढीकरणलाई पनि उनले प्राथमिकतामा राखेका छन ।
चन्दले गर्भावस्था देखि पाँच वर्षसम्म पोषण कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक स्वास्थ्य संस्थामा नवजात शिशु हेरचाह, पोषण जाँच र परामर्श सेवा सवलीकरण गर्ने, धनगढी उपमहानगर पालीका वडा नम्बर–३ मा बनेको होल्डिङ सेन्टरलाई विशेषज्ञ उपचार केन्द्र वा तालिम केन्द्रको रुपमा प्रयोग गर्ने योजना अगाडी सारेका छन् ।
खेलकुद पूर्वाधार विकासमा पनि उनले विशेष जोड दिएका छन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान लाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गरी सुदूरपश्चिमको गौरवको आयोजना बनाउने योजना अघि सारिएको छ । पर्यटन प्रवद्र्धनतर्फ धनगढीलाई ‘गेटवे अफ सुदूरपश्चिम’ बनाउने लक्ष्य राख्दै जाखोर ताल क्षेत्रको विकास, थारु समुदायको ‘होमस्टे’ ब्रान्डिङ तथा परम्परागत ‘भलमन्सा’ प्रणालीलाई स्थानीय शासन व्यवस्थासँग समन्वय गर्ने नवीन अवधारणा प्रस्तुत गरिएको छ । यसले सांस्कृतिक संरक्षण र आर्थिक सशक्तीकरण दुवैलाई टेवा पुग्ने विश्वास गरिएको छ ।
पुरानो शिक्षण पद्धतिले मात्र बेरोजगारी समाधान नहुने तर्क गर्दै डा. चन्दले विद्यालय तह देखि नै एआई, रोबोटिक्स र डेटा साइन्स जस्ता आधुनिक विषय समावेश गर्ने प्रस्ताव गरेका छन् । प्राविधिक शिक्षा केन्द्र स्थापना, सीपमूलक तालिम, स्वरोजगार प्रवद्र्धन तथा सहुलियत ऋणको व्यवस्था गरी युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्य उनको छ ।
बीचमै पढाइ छोडेका युवालाई पुनः सीप विकास कार्यक्रममा समेट्ने, सरकारी विद्यालयको गुणस्तर सुधार गर्ने र स्थानीय भाषा–संस्कृतिसँग जोडीएको पाठ्यक्रम विकास गर्ने योजना पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । रास्वपाको ‘घण्टी’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका उनले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताएका छन् ।
डिजिटल प्रविधि मार्फत सरकारी सेवा पारदर्शी बनाउने, नियमित जनसंवाद कार्यक्रम सञ्चालन गर्ने र जनगुनासा सम्बोधन गर्न डिजिटल एप प्रयोग गर्ने योजना सार्वजनिक गरिएको छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक पहल मार्फत विकास निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गर्दै डा. चन्दले स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने दाबी गरेका छन् ।


