माघ १८ धनगढी । आगामी फागुन २१ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशका ४६ वटा मतदानस्थलहरु हिमपातको जोखिम सूचीमा राखिएका छन । बाजुराका २२, डडेलधुराका १९ र बझाङका पाँच वटा मतदानस्थललाई हिमपात हुनसक्ने जोखिमको सूचीमा राखिएको हो ।
फागुन तेस्रो साता पनि हिमपात हुनसक्ने जोखिम भएकाले जोखिमको सूचीमा राखिएको हो । दार्चुलाको टिंकर र छाङरु मतदानस्थलमा हिमपात हुने भए पनि यो समयमा ती मतदानस्थलका मतदाताहरू सदरमुकाम खलंगा बसाइँ सर्ने भएकाले खलंगामै मतदानस्थल निर्धारण गरिएको छ ।
हिमाली गाउँपालिकामा पाँच वटा,स्वामीकार्तिक गाउँपालिकामा ६ वटा, जगन्नाथ गाउँपालिकामा एउटा, गौमूल गाउँपालिकामा तीन वटा, खप्तडछेडेदह गाउँपालिकामा तीन वटा, त्रिवेणी नगरपालिकामा दुई वटा र बूढीनन्दा नगरपालिकामा दुई वटा मतदानस्थल हिमपातको जोखिममा रहेको मतदानस्थल भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी गराए ।
बझाङमा साइपाल गाउँपालिकाका पाँच वटै मतदानस्थल हिमपातको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जानकारी गराएको छ । धलौन मावि १ र २, काँडा, धुली र एडाडकुडी डाँडा मतदानस्थल हिमपातको जोखिममा रहेका छन् । त्यसैगरी डडेलधुरामा १९ वटा मतदानस्थलहरु हिमपातको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ ।
अजयमेरु गाउँपालिकामा ४, अमरगढी नगरपालिकामा ३, आलीताल गाउँपालिकामा ३, गन्यापधुराका ४, नवदुर्गा गाउपालिकाको एक र भागेश्वर गाउपालिकाका चार वटा मतदानस्थलहरुलाई हिमपातको जोखिमको सूचीमा राखिएको छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले दार्चुलाको समस्या समाधान भइसकेको जानकारी गराउदै अन्य जिल्लाले हिमपातको जोखिममा राखेका मतदानस्थलको हकमा जिल्ला सुरक्षा समितिले गर्ने निर्णय अनुसार निर्वाचन आयोगले विकल्प दिने बताएका छन ।


