माघ १८ धनगढी । कैलालीको क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी एमालेको क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । आईतबार एमाले क्षेत्र नम्बर ४ ले एमालेका प्रतिनिधि सभा सदस्यको निर्बाचनका लागी क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको हो ।
कार्यालयको उम्मेदवार लेखराज भट्टले उद्घाटन गरेका छन । क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै भट्टले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेस सँग एमालेको प्रतिस्पर्धा हुने बताए ।
अन्य प्रतिस्पर्धी पनि कमजोर नठानेको बताउदै उनले आफ्नो जित केबल निर्वाचन क्षेत्रको लागि मात्रै नभएर सिङ्गो सुदूरपश्चिमको लागि हुने बताए । सुदूरपश्चिम प्रदेशमा एमालेले १२ ओटा सिट जित्ने उनले दाबी समेत गरेका छन ।
कार्यक्रममा समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य हरि शंकर योगी, भर्खरै निर्वाचित राष्ट्रिय सभा सदस्य लीला भण्डारी, सुदूरपश्चिम प्रदेश सांसद धर्मराज पाठक लगायतको उपस्थिति रहेको थियो ।
अत्तरिया स्थित धनगढी रोडमा गरिएको सचिवालय स्थापनासँगै एमालेले क्षेत्रीय स्तरमा सङ्गठन सुदृढ गर्दै चुनावी गतिविधि थप सक्रिय बनाउने जनाएको छ । मतदाता समन्वय र प्रचार–प्रसारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । कैलाली क्षेत्र नम्बर ४ मा एमालेले लेखराज भट्टलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी एमालेका केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मूल निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । समितिको उपसचिवमा भागीरथी विष्ट र सचिवमा गणेश जिमी साउँद रहेका छन् ।


