माघ १८ बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४ सय ४२ जना कर्मचारी परिचालन हुने भएका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार २ सय १४ वटा मतदान केन्द्रमा एक हजार ४ सय ४२ जना कर्मचारी परिचालन हुने भएका हुन ।
निर्वाचनमा कर्मचारी परिचालनका लागि सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी गराए । केही दिन भित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटन पटनको काम अगाडि बढाइने उनले बताए ।
एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेदवारी कायम रहेको छ । एक लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९ सय ८७ पुरुष, ७७ हजार ३ सय ८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् ।
पाँच सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा सात जना कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी गराए ।
सुरक्षा दृष्टिले जिल्लाका ३३ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १ सय २९ वटा मतदानस्थल मध्ये ३३ वटा अतिसंवेदनशील, २८ वटा संवेदनशील र ६८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।


