माघ १८ धनगढी । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेले घरदैलो अभियान सुरु गरेका छन् । आईतबार उनले धनगढी उपमहानगरपालिका वडा नम्बर–१ स्थित शिविरबाट चुनावी घरदैलो अभियान सुरु गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका आलेले नेता कार्यकर्ताको सहभागितामा घरदैलो कार्यक्रम सुरु गरेका हुन् । घरदैलो सुरु गर्दै उनले यस क्षेत्रको समग्र विकासका लागि आफू प्रतिवद्ध रहेको बताएका छन ।
उनले खानेपानी, सडक,शिक्षा,स्वास्थ्य, रोजगार लगायतका समस्या समाधानमा विशेष जोड दिने उनले प्रतिवद्धता व्यक्त गरेका छन । विकास निर्माण लगायतका काम गरेकै कारण तीन पटक लगातार निर्वाचन जितेको बताउँदै उनले यस पटक पनि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरेका छन ।
चुनावी गतिविधिलाई तीब्र बनाउँदै लगेका आलेले यसअघि निर्वाचन क्षेत्र भित्रका सबै वडाहरुमा निर्वाचन परिचालन सचिवालय स्थापनासँगै पार्टीका आन्तरिक बैठकहरु सम्पन्न गरिसकेका छन् ।
डोटीबाट २०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा सदस्य र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जितेका आले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका छन् ।

