माघ ११ धनगढी । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम प्रदेश आउने भएका छन् । अछाम देखि कैलाली सम्म चुनाव प्रचार गर्न बालेन सुदूरपश्चिम प्रदेश आउने भएका हुन । सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ ।
चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर शनिबार काठमाण्डौा फर्किएका थिए । झापाको बसाइबाट उनी उत्साहित बनेको बताइन्छ । यद्यपि, उनले त्यहाँ रहँदा चढेको महंगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो ।
एक व्यवसायीले दिएको गाडी बालेनले त्यहीँ नै छोडेर आएका छन् । सुदूरपश्चिमबाट बालेन निकट दुई जना व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका छन ।
यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम आउन लागेको बुझिएको छ । सुदूर पश्चिममा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुने छन् । उनले काठमाडौं, ललितपुरका केही निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सहभागी हुने समेत कार्यक्रम रहेको बताइृएको छ ।


