माघ ०७ धनगढी । नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार गोरख बहादुर विष्ट आनन्द आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । मंगलबार वारेसना मार्फत उम्मेदवारी दर्ता गराएका विष्ट बुधबार काठमाडौंबाट हवाई मार्ग हुँदै धनगढी आइपुगेका हुन् ।
धनगढी विमानस्थलमा कांग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूले विष्टको स्वागत गरेका थिए । कांग्रेस क्षेत्रीय सभापति वसन्त रोकाया, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट लगायतले विमानस्थलमै उनको स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै विष्टले कैलाली क्षेत्र नम्बर ४ को समग्र विकासका लागि पवित्र भावनाका साथ निर्वाचनमा होमिएको बताए ।
उनले आफू ३६ वर्षदेखि नेपाली कांग्रेसमा आबद्ध रहेको बताउदै जन्मभूमिको सेवा गर्न उम्मेदवारी दिएको बताए । “म पवित्र भावना लिएर कैलाली क्षेत्र नम्बर ४ का जनताको सेवा गर्न आएको हुँ । मेरो लुकाउने केही छैन, म खुला किताब हुँ,” उनले भने । विष्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आर्जन गरेको अनुभव क्षेत्रको विकासमा प्रयोग गर्ने प्रतिबद्धता जनाए ।
साथै उनले देशमा देखिएको ‘जेन–जी’ आन्दोलनको भावना समेट्दै अगाडि बढ्ने बताए । पार्टीभित्र देखिएको विवाद समाधान भइसकेको बताउदै उनले अहिले कुनै पनि प्रकारको मनमुटाव नरहेको बताए । उनले चुनाव व्यक्तिगत नभई पार्टीबीचको प्रतिस्पर्धा भएको बताए ।
आफ्ना प्रतिस्पर्धी लेखराज भट्टलाई फोन गरी स्वच्छ प्रतिस्पर्धा गर्दै चुनाव लड्न आग्रह गरेको जानकारी गराउदै उनले गालीगलौज र नकारात्मक राजनीति त्याग्ने प्रतिबद्धता जनाए । विमानस्थलबाट ¥याली सहित निर्वाचन क्षेत्रमा पुगेका विष्टले सर्वप्रथम गोदावरी तीर्थधामको दर्शन गरेका थिए ।
गोदावरीमा जारी बाह्र राशि कुम्भ मेला अन्तर्गत कुम्भ बाटिका र शिवालयमा पूजाआजा गर्नुका साथै धामका महन्थ तुल्छी गिरीबाट आशिर्वाद लिएका थिए ।


