माघ ०४ धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका दुई वटा निर्वाचन क्षेत्रका उम्मेदवार हेरफेर गरेको छ । निर्णय भएको १२ घण्टा नपुग्दै एमालेले दुई वटा निर्वाचन क्षेत्रका उम्मेदवार हेरफेर गरेको हो ।
शनिबार बसेको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको भए पनि अहिले दुवै उम्मेदवारलाई ब्याक गर्दै बझाङमा ऐन महर र कञ्चनपुर १ मा तारालामा तामाङलाई एमालेले टिकट दिएको हो ।
अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा सहितको गठबन्धन विरुद्ध निर्वाचन लडेका महर ९ सय ९८ मतको अन्तरले पराजित भएका थिए । उनले सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतको अन्तरले हारेका थिए ।
तत्कालीन नेकपा (एस) का भानुभक्त जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दा महरले २७ हजार १ सय ४५ मत पाएका थिए । कञ्चनपुर क्षेत्र नम्बर १ मा तामाङले गठबन्धनका उम्मेदवार नेकपा(माओवादी केन्द्रकी बिना मगरलाई ४ हजार ९ सय ११ मतको अन्तरले पराजित गरेका थिए ।
तामाङले २० हजार ९ सय ६९ मत प्राप्त गर्दा बिना मगरले १६ हजार ५८ मत प्राप्त गरेकी थिइन् । बझाङमा महर र कञ्चनपुर– १ मा तामाङ दुवै लोकप्रिय उम्मेदवार हुन् । यस अघि उम्मेदवार ठीक ढंगले चयन नभएको भन्दै एमाले पार्टी भित्र व्यापक विरोध भएको थियो ।


