बढ्दो सहरीकरणसंगै यातायातका साधनहरुको चाँप समेत बढ्दै गएको छ । यातायात व्यावस्था कार्यालय सेतीमा सवारी साधनहरुको दर्ता बढ्दो क्रम्मा रहेको छ । सहरीकरणसंगै यातायातका साधनहरु बढ्दै गएका भएपनि बाटोघाटोको अवस्था भने उस्तै छ । साँघुराबाटाहरुमा सवारी साधनहरुको चाँपले आवत जावतमा समस्या हुने गरेको छ ।
धनगढीका केही सडकहरु सुधार भए पनि सुदूरपश्चिमको अस्थाई राजधानी धनगढीमा अझै थुप्रै सडकहरु सुधार हुन बाँकी रहेको छ । योजना विनाको बजारका कारण सडकहरु एकदमै साँघुरिदै गएका कारण जाम हुन थालेका छन । धनगढीको मुख्य सडकमा फराकिलो भए पनि अन्य भित्री सडकहरुमा समस्या हुने गरेको छ । सडकको कारण र यातायातका साधनहरुको चाँपका कारण दुर्घटनाहरु बढी हुने गरेका छन् ।
सडकहरु विस्तार गरी दुर्घटनालाई न्यूनीकरण गर्नका साथै सडक योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी छ । साँघुरा सडक र ठेकेदारका लाफरबाहीका कारण बनाएको पिच सडक पनि केही दिनमै भत्किने गरेका कारण खाल्डा खुल्डीले समेत यात्रुहरुलाई र यातायातका साधनहरुलाई बढी समस्या हुने गरेको छ । सम्बन्धित निकायले समयमै ध्यान पु¥याएर यस्ता खाल्डा खुल्डीहरु समयमै पुन निर्माण गर्न जरुरी छ ।
विशेष गरेर सडकलाई ध्यान दिई सडक फराकिलो बनाउन तर्फ लाग्नुपर्दछ । जनताहरुले पनि विकास निर्माणका कार्यहरुमा सडक विस्तारको कार्यलाई साथ दिन जरुरी छ । सडक विस्तारमा देखिएका समस्याहरुलाई सहज रुपमा लिई सरकारलाई सघाउ पुग्ने कार्यहरु गर्नुपर्दछ । विकास निर्माणका कार्यमा कुनै पनि सम्झौता नगरी एकताबद्ध हुन जरुरी छ ।

