असार ०३ धनगढी । सुदूरपश्चिम प्रदेशमा बैँक तथा वित्तीय संस्थाले एक खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेका छन । चालु आर्थिक वर्षको फागुन मसान्त सम्म बैँक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशमा एक खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन ।
प्रदेश सरकारको आर्थिक सर्वेक्षण अनुसार यही अवधिमा बैँक तथा वित्तीय संस्थाले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप गरेका छन् । प्रदेशमा बैँक तथा वित्तीय संस्थाको सङ्ख्या ८ सय ४९ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म बैँक तथा वित्तीय सङ्ख्या ८ सय ४८ रहेको थियो ।
त्यसै गरी बिमा कम्पनीको सङ्ख्या २ सय ७० पुगेको आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले जानकारी गराए । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा पनि सामान्य वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन सामान्य बढेको हो ।
आर्थिक वर्ष २०८०÷८१ मा यस वर्षको कुल गार्हस्थ्य उत्पादन चार खर्ब छ अर्ब ७५ करोड रुपैयाँ रहेको
थियो ।
चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन चार खर्ब २९ अर्ब ६२ करोड पुगेर सामान्य वृद्धि भएको छ । प्रदेशको चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ७.०३ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा भएको यो वृद्धि सकारात्मक रहेको जानकारी गराईएको छ ।


