जेठ ३० धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ का सुरेशकुमार चौधरीले हस्तकलाबाट लाखौ रकम कमाउदै आएका छन । दार्चुलामा बसेर आफ्नो कला बेच्दै उनले लाखौ रकम कमाउदै आएका हुन ।
२०७९ सालमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला परिसरको बाहिरी पर्खालमा हिमाली क्षेत्रमा पाइने संरक्षित र लोपोन्मुख वन्यजन्तुको चित्र कोर्न दुई हप्ताका लागि दार्चुला गएका सुरेशको कला स्थानीयले मन पराएपछि उनी चार वर्ष देखि दार्चुलामै जमेर बसेका छन । कला मन पराएर प्रशस्त काम दिलाउने भेटिए पछि दार्चुला छोड्न मन नलागेको उनले बताए ।
२०४८ सालदेखि चित्र कोर्दै आएका उनले महिनाको दुई हजार पाँच सय रुपैयाँ ज्यालामा काठमाडौँमा काम सुरु गरेको बताएका छन । फुपूको छोरा मेवाराम चौधरीले हस्तकला सिकाएका कारण यहाँसम्म पुगेको बताउदै उनले २०५६ सालमा कोसेली आट्र्स नाम दिएर धनगढीमा व्यवसाय सुरु गरेको बताए ।
हस्तकला बेचेर महिनाको एक लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउदै सुरेशले सबै खर्च कटाएर वर्षको १० लाख रुपैयाँ बचत गर्दै आएको बताए ।
सुरेशले दार्चुलाका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक स्थलमा जनचेतनामूलक सन्देश, धार्मिक, सांस्कृतिक, परापूर्वकालका वेशभूषा झल्किने कलात्मक चित्र, प्रतिष्ठित व्यक्ति, दार्चुलामा पाइने लोपोन्मुख वन्यजन्तु लगायतका चित्र कलात्मक तरिकाले कोर्ने गरेका छन ।
सुरेशले दुई सय रुपैयाँ वर्गफिटमा आफ्नो कलालाई बेच्दै आएका छन । २०७० सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट सम्मानित भएका सुरेशलाई पेशाप्रतिको लगाव झन् बढेको छ । युवालाई हस्तकला पेशामा लाग्न सुझाव दिँदैँ उनले हातमा सिप हुने मान्छेले भोको मर्नु नपर्ने बताए ।
सिप सिक्नुस् आत्मनिर्भर बन्नुस् ।’ बढ्दो प्रविधिको विकासले केही समय हस्तकला थन्किए पनि पुनः लयमा फर्किएको उनले बताउका छन ।


