जेठ १६ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्बजनीक गरेको छ । शुक्रबार प्रदेशसभाको छैठौ अधिवेशनको चौथो बैठकमा सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्बजनीक गरिएको हो ।
प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रम्मा प्रादेशिक विकासका योजनालाई प्राथमिकता दिने उल्लेख गरिएको छ । एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनौट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
उद्यमशीलता विकास मार्फत् प्रदेशको बेरोजगारी, गरिबी न्यूनीकरण गर्ने खालका योजना तथा कार्यक्रमलाई पनि प्राथमिकता दिइने बताइएको छ । लगानी नभएका तर केही नयाँ उपाय र उर्जा भएका उद्यमीलाई सहुलियत ब्याजमा कर्जा प्रवाह गर्न स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने, श्रमिकको माग र आपूर्तिबारे सर्वेक्षण गरी रोजगार पोर्टल सञ्चालन गर्ने र मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएका छन ।
त्यसैगरी बौद्धिक अपाङगता भएका बालबालिकाका लागि आवासिय विद्यालय सञ्चालन गर्ने, कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने, प्रत्येक जिल्लामा एक÷एक नमुना क्याम्पस सञ्चालन गर्ने, प्रदेश खेलकुद नीति बनाउँदै खेल क्षेत्रको प्रवद्र्धन गर्ने, उत्कृष्ट खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने, खेल विद्यालय सञ्चालन गर्ने, एक जिल्ला एक क्रिकेट मैदान निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेशसभा सदस्यहरुको बीमा गर्ने, अघिल्ला वर्ष जस्तै सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
त्यसैगरी डडेल्धुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी लगायतका अस्पताललाई प्रदेशस्तरको बनाउने, प्रदेश लगानी तथा विकास सम्मेलनको आयोजना गर्ने, एक जिल्ला एक कृषिजन्य उद्योग स्थापना गर्ने, बाकावीर पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने र आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने विषय पनि नीति तथा कार्यक्रम्मा समेटिएका छन ।


