जेठ १५ काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरिएको छ । विहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागी १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका हुन ।
आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगत तर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बजेट वक्तव्य मार्फत् जानकारी गराएका छन ।
आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरण तर्फ चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड उठाइने अनुमान गरिएको छ ।
बाँकी पाँच खर्ब ९५ अर्ब ६६ अर्ब बराबर न्यून हुनेछ । त्यसका लागि आन्तरिक ऋणबाट तीन खर्ब ६२ अर्ब र बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड व्यहोरिने अर्थमन्त्री पौडेलले बजेट वक्तव्य मार्फत् बताएका छन ।


