जेठ १२ धनगढी । गोदावरी नगरपालिकामा एशियन विकास बैंक ( ADB) को टिमसँग वित्त व्यवस्थापन सम्बन्धी महत्वपूर्ण छलफल गरिएको छ । सोमबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा एशियन विकास बैंक ( ADB) को टिमसँग वित्त व्यवस्थापन सम्बन्धी महत्वपूर्ण छलफल गरिएको हो ।
एशियन विकास बैंकको टिमबाट रचना श्रेष्ठ (Senior Public Management Specialist ) कृष्ण पाठक Senior Public Management Officer) र रूपक शर्मा (Consultant) सहभागी थिए ।
त्यसैगरी गोदावरी नगरपालिकाका उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्म राज बिनाडी तथा सबै शाखा प्रमुखहरूको उपस्थिति रहेको छलफलमा वित्तीय पारदर्शिता, स्रोत व्यवस्थापन, राजस्व संकलन, लैंगिक समानता, सार्वजनिक खर्चको प्रभावकारिता तथा नीति निर्माणका विविध पक्षमा विस्तृत कुराकानी भएको थियो ।
ADB प्रतिनिधिहरूले गोदावरी नगरपालिकाको वर्तमान आर्थिक परिस्थिति हेर्दै स्थानीय तहमा वित्तीय अनुशासन र पारदर्शिता आवश्यक भएकाले नीति निर्माणका कामहरूमा आगामी असार मसान्त सम्म सहजीकरण गर्न अनुरोध गरेका थिए । वैज्ञानिक सम्पत्ति आर्जन, स्रोत नक्साङ्कन (Resource Mapping ) र लैंगिक दृष्टिकोणलाई पनि नीतिमा समावेश गर्नु पर्ने आवश्यकता औंल्याएका थिए ।
छलफलको क्रममा नगर प्रमुख भट्टले सबै शाखा प्रमुखहरूलाई आगामी दिनमा नियम, कानुन तथा नीति अनुरूप जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । उनले सार्वजनिक सेवाप्रति जवाफदेहीता र समन्वयमा आधारित कार्य सम्पादनले मात्र जनअपेक्षा पूरा गर्न सकिने बताए । नगर प्रमुख भट्टले ब्म्द्य टिमलाई गोदावरी नगरपालिकामा आएर अमूल्य सुझाव प्रदान गरेकोमा धन्यवाद दिँदै भविष्यमा समेत यस्ता सहकार्यको अपेक्षा गरेको बताए ।


