चैत्र २२ अछाम । अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलाको सेवा सुविधा रोक्ने भएको छ । महिनावारी भएका बेला महिलाले छाउगोठमा बसे गाउँपालिकाले महिलाको सेवा सुविधा रोक्ने भएको हो । छाउगोठमा बसेमा गाउँपालिकाबाट दिइने सुविधा नदिने निर्णय गर्न बाध्य हुने पालीकाले जनाएको छ ।
छाउपडी प्रथाका कारण महिलाहरु बलात्कार हुनुका साथै जङ्गली जनावरको त्रास र आगलागी लगायतका घटनाले जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । महिला महिनावारी भएको बेलामा आफैँ छाउगोठमा बस्ने र कसैले छाउगोठमा बस्न बाध्य बनाएमा उनीहरूलाई कारबाही गर्ने चौरपाटी गाउँपालिकाले जनाएको छ ।
छाउपडी प्रथा कुप्रथाका रूपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्ने गरी गाउँपालिकाले यस्तो निर्णय गरेको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए । गाउँपालिकाले छाउपडी प्रथा उन्मूलन गर्ने उद्देश्यले महिलाले छाउगोठमा बसेमा र उनीहरूलाई महिनावारी भएको बेलामा कसैले छाउगोठमा बस्न बाध्य बनाएमा पालिकाबाट पाउँदै आएको सरकारी सेवा, सुविधा रोकिदिने निर्णय गरिने उनले बताए ।
चौरपाटी गाउँपालिकालाई छाउगोठमुक्त गर्ने गरेर अभियान सुरु गर्ने उनले बताए । उपाध्यक्षको संयोजकत्वमा ११ जनाको समिति बनाइने अध्यक्ष साउदले बताए । अछाम जिल्लाभर छाउप्रथा कायम रहेको छ । पहिले जस्तो नभए पनि अहिले केही गाउँबस्तीमा अझै छाउगोठ निर्माण हुने गरेका छन् ।
अछाममा कति छाउगोठ निर्माण भएका छन् त्यसको पूरै अनुगमन गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।
छाउपडी प्रथा कुप्रथा तथा सामाजिक अपराध भए पनि गाउँबस्तीमा कायमै रहेको छ ।” महिला महिनावारी भएका बेला छाउगोठमा बास बस्दा विभिन्न समयमा गरेर १५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख भण्डारीले बताए ।


