फागुन ०२ धनगढी । नेपाल मानवतावादी पार्टी जिल्ला समिति कैलालीले कञ्चनपुरको सीमा समस्या समाधानका लागि कडा कदम चाल्न आग्रह गरेको छ । बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै उक्त पार्टीले राष्ट्र र राष्ट्रियताको मामिलामा कुनै प्रकारको ढिलाइ नगरी कडा कदम चाल्नका लागि आग्रह गरेको हो ।
ज्ञापन पत्रमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर– ८ र शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्रमा भारतद्वारा भएको सीमा अतिक्रमणको घटनाले राष्ट्रिय अखण्डता र सार्वभौमिकता माथि गम्भीर आघात पुगेको उल्लेख गरिएको छ । देशको सिमानामा भएको अतिक्रमणले चिन्ता र असुरक्षा बढाउनुका साथै भारतको उक्त कदमले नेपालको भूमि र सीमा नाका अधिकारको गम्भीर उल्लङ्घन गरेको ज्ञापन पत्रमा उल्लेख गरिएका छ ।
नेपाल र भारतको द्विपक्षीय सम्बन्धमा तनाव उत्पन्न भएको र, यसले सम्पूर्ण जनताको सुरक्षा र शान्तिमा प्रतिकूल असर पार्ने खतरा उत्पन्न भएकाले त्यसका लागि तत्काल कानुनी र कूटनीतिक कदम चाल्नु अत्यन्त आवश्यक देखिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल मानवतावादी पार्टीका जिल्ला अध्यक्ष अङ्गत विकद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउन कुनै पनि प्रकारको सम्झौतामा नजान आग्रह गरिएको छ ।
ज्ञापन पत्रमा नेपालको सीमा र भौगोलिक अखण्डता सुरक्षित राख्नका लागि अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहल गर्न सुझाइएको छ । संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय फोरममा नेपालको सिमाना र सार्वभौमिकता रक्षा गर्नका लागि मुद्दा उठाउन र नेपाल सरकारले सीमा सुरक्षा सम्बन्धी प्रभावकारी उपायहरू अविलम्ब लागु गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।
केही दिन अघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) सहित भारतीय प्रशासनले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका वडा नम्बर–८ धामी टोलमा एकलौटी रुपमा ‘दशगजा छुट्याउने’ काम गरेपछि विवाद उत्पन्न भएको छ । नेपाल–भारत ७६९९१६० नम्बर सीमा पिलर क्षेत्रमा भारतीय प्रशासनले ट्याक्टर ल्याएर एक्कासि दशगजा सिमाङ्कन गर्ने भन्दै रेखाङ्कन गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए ।
स्थानीयको विरोध पछि भारतीय सुरक्षाकर्मीहरू फर्किएका थिए । भारतीय पक्षले एकलौटी सिमाङ्कन गरेपछि स्थानीय सहित राजनीतिक दल, संघ–संगठन विरोधमा उत्रिएका छन् । कञ्चनपुरमा भारतीय पक्षले सयौँ बिगाहा जग्गा अतिक्रमण गरेको छ भने पटक पटक एकपक्षीय रूपमा भारतले सिमाङ्कन गर्न खोज्दा विवाद हुँदै आएको छ । कञ्चनपुरको प्याराताल, पचुई, भुडा लगायतका क्षेत्रमा पनि सीमा विवाद रहेको छ ।


