असार ०४ धनगढी । कैलाली भन्सार कार्यालयले सात अर्ब ३२ करोड १४ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को साउन देखि जेठ मसान्त सम्म ११ महिनाको अबधीमा उक्त राजस्व संकलन गरेको हो । कैलाली भन्सार कार्यालय धनगढीका सूचना अधिकारी पवित्रकुमार खड्काले कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ १८ करोड ९५ लाख र अन्यतर्फ एक अर्ब ४० करोड आठ लाख राजस्व संकलन गरेकोे जानकारी गराए ।
चालु आर्थिक बर्षमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकोमा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उनले जानकारी गराए । सूचना अधिकारी खड्काले चालु आर्थिक बर्षको साउनमा ४६ करोड ८२ लाख, भदौमा ५१ करोड ९३ लाख, असोजमा ६३ करोड १४ लाख, कात्तिकमा ६१ करोड ४६ लाख, मङ्सिरमा ७३ करोड ३४ लाख र पुसमा ६८ करोड ९० लाख राजस्व संलन भएको जानकारी गराए ।
त्यसैगरी माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख, चैतमा ७२ करोड १३ लाख, वैशाखमा ७५ करोड १७ लाख र जेठमा ८३ करोड ५३ लाख राजस्व संकलन भएको उनले जानकारी गराए । आयातमा वृद्धि हुन नसकेको बताउदै उनले निर्यात नगन्य मात्रामा हुने गरेको बताए । सूचना अधिकारी खड्काले पूँजीगत खर्च कम भएको बताउदै बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी भएकाले राजस्व संकलनको लक्ष्यमा पुग्न नसकेको बताए ।
एक महिना मात्रै बाँकी रहेकाले राजस्व संकलनको लक्ष्यमा पुग्ने सम्भावना न्यून रहेको उनले बताए । भन्सार कार्यालयको गत आर्थिक वर्ष २०७९÷८० मा १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकोमा आठ अर्ब २९ करोड ६३ लाख अर्थात लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै राजस्व संकलन भएको खडकाले जानकारी गराए ।


