कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मूल्य अभिवृद्धि कर (भ्याट) नभएका फर्म वा संस्थासँग सामग्रीहरु खरिद गरेको पाईएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदनमा नगरपालिकाले भ्याट नभएका फर्म वा संस्थाबाट सामग्री खरिद गरेको पाईएको उल्लेख गरिएको छ ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम १९ मा सार्वजनिक निकायले बीस हजार रुपैया भन्दा बढी रकमको खरिद गर्दा आन्तरिक राजश्व कार्यालयबाट भ्याटमा दर्ता प्रमाणपत्र प्राप्त फर्म वा संस्थासँग गर्नुपर्ने ब्याबशथा भएपनि त्यसो नभएको पाईएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाले ४ लाख ४ हजार ४५ रुपैया भ्याटमा दर्ता नभएका फर्म वा संस्थासँग कार्यालयका सामग्री खरिद गरेको देखाएको छ ।
जसवाफत एलिना नास्ता पसलमा २१ हजार ४ सय ५५, आर.के.कटेज एण्ड रिसोर्टमा २२ हजार ४ सय ७५, समर्पण पुस्तक पसलमा २४ हजार ५ सय ८०, लक्ष्मी डिजिटल फोटो स्टुडियोमा ३२ हजार ५ सय २०, दक्षिणकाली स्टेशनरी एण्ड सप्लायर्समा २९ हजार ५ सय ५०, नेहा पुस्तक सदनमा २ लाख ४० हजार १ सय ६५ र विवेक ट्रेड एण्ड सप्लायर्समा ३३ हजार ३ सय रुपैया नगरपालिकाले भुक्तानी गरेको छ । प्रतिवेदनले पालिकाले खरिद कार्य गर्दा नियमावलीमा भएको व्यवस्थाको पालना गर्नुपर्ने बताएको छ ।


