जेठ ०५ धनगढी । सुदूरपश्चिमका बिभिन्न स्थानबाट करिब १३ लाख बराबरको अवैध सामान बरामद गरिएको छ । शुक्रबार र शनिबार कैलाली, कञ्चनपुर र बैतडीबाट अवैध सामान बरामद गरिएको हो ।
शुक्रबार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर– २ ट्राफिक चौराह , धनगढी उप–महानगरपालिका वडन नम्बर–९ त्रिवेणीघाट र टीकापुर नगरपालिका वडा नम्बर–८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ६० हजार ७ सय ७० रुपैया मूल्य बराबरका सामान बरामद गरिएको हो । प्याज, चिनी, पानी तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यसैगरी शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर– १ भासि, भीमदत्त नगरपालिका वडा नम्बर– १० बिद्युत कार्यालय नजिक, पुनर्वास नगरपालिका वडा नम्बर– ११ डोकेबजार, गुम्बा र बेलडाँडी गाउँपालिका वडा नम्बर– ३ बलराम टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी ३ लाख ४० हजार २ सय ३० रुपैयाँ बराबरमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, चप्पल, अचार, चामल, नरिवल, फिल्टर, कट्टु, भेष्ट माला, सुटपिस, खुर्सानी, तिल, तावा, प्लाष्टिक झिल्ली, गाडीको क्लोज पिलेट, सिघ्रा मिक्सर मोटर, इलेक्ट्रीक मधानी मेसिन, बोईलर कुखुरा लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको हो ।
त्यसैगरी शनिबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर– ८ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८ लाख ६३ हजार ९ सय मूल्य बराबरको अबैध बोईलर कुखुराको चल्ला ५८ कार्टुन, बिना नम्बर पिलेटको ट्याक्टर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ट्याक्टर चालक रमेश राना, प्रमोद राना र बसन्त रानालाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको हो ।
शुक्रबार बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर– ५ कलवाड मोड स्थित गोठालापानी झुलाघाट सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १३ हजार ७ सय ९० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ ।
चिनी, मिश्री, मिठाई, आटा लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी गराएको हो ।


