असोज ०५ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सञ्चालित किशोरी समृद्धिका लागि किशोरी आधारभुत परियोजना (बिफोरजी) को सिकाई समिक्षा आयोजना गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) ले सञ्चालन गरेको उक्त परियोजनाको आईतबार धनगढीमा सिकाई समिक्षा आयोजना गरिएको हो ।
कृष्णपुर नगरपालिकाका वडा नम्बर .१, २, ४, ७ र ९ मा करिब २ वर्ष सम्म सञ्चालन भएको उक्त परियोजना अन्तरगत किशोरीहरुको शिक्षा, स्वास्थ्य, सरसफाइ, सुरक्षा र अधिकारका विषयमा विभिन्न कार्यक्रमहरु गरिएको थियो ।
२ वर्षको अवधीमा परियोजना अन्तरगत भए गरेका विषयवस्तु र कार्यक्रमहरुको बारेमा लक्षित समुदाय र सरोकारवालाहरु बिचमा सिकाई समिक्षा आयोजना गरिएको परियोजना अधिकृत सारिका पालले जानकारी गराईन ।
उनले परियोजना अन्तर्गत भएका गतिविधि, प्राप्त उपलब्धि, चुनौती र सिकाइबारे सरोकारवालाबीच छलफल गरिएको बताईन । परियोजनाले विद्यालय तथा समुदायमा किशोरीका लागि सुरक्षित र सहज वातावरण निर्माणसँगै स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धिमा काम गरेको उनले जानकारी गराईन ।
परियोजना अन्तर्गत विभिन्न विद्यालयमा किशोरीमैत्री जानकारी कक्ष तथा महिनावारीका समयमा आराम गर्न मिल्ने विश्राम कक्ष निर्माण गरिएको, किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी जानकारी दिनुका साथै आवश्यक सरसफाइ सामग्री समेत उपलब्ध गराइएको, विद्यालय तथा समुदायमा शुद्ध खानेपानीको व्यवस्था र अपाङ्गमैत्री शौचालय निर्माण गरिएको पालले बताईन ।
त्यसबाहेक किशोरीमाथि हुने लैङ्गिक हिंसा न्यूनीकरण तथा अधिकारका विषयमा सचेतना बढाउन सडक नाटक, अन्तरक्रिया र संवाद कार्यक्रम सञ्चालन गरिएको उनले बताईन । कार्यक्रममा परियोजनाबाट प्राप्त सिकाइलाई आगामी कार्यक्रमको प्रभावकारितासँग जोड्नुपर्नेमा जोड दिइएको थियो ।
किशोरीहरूको वास्तविक आवश्यकता र समस्याको पहिचान गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने, अभिभावक तथा समुदायको सहभागिता बढाउनुपर्ने र विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह तथा समुदाय बीचको समन्वयलाई थप मजबुत बनाउनुपर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल अधिकार समितिका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, किशोरी तथा अभिभावक लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।


