असोज ०५ धनगढी । टीकापुरबाट रसुवास्थित जलविद्युत् आयोजनामा श्रम गर्न गएर बाढीमा बेपत्ता भएका श्रमिकको पारिश्रमिक वितरण गरिएको छ । टीकापुर नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष मोहन विकको रोहवरमा पारिश्रमिक वितरण गरिएको हो ।
आयोजनाका लागि कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले निर्माण कम्पनीबाट कामदारले श्रम गरेको अवधिको पारिश्रमिक ल्याएर आइतबार टीकापुरमा रहेका श्रमिकका परिवारलाई वितरण गरेका हुन । पारिश्रमिक बाफतको पैसा लिन बोलाए पनि बाढीमा बेपत्ता भएका श्रमिकका परिवार मलिन अनुहार र आफन्तको खबर सुन्न आतुर भएर टीकापुर नगरपालिका वडा नम्बर–१, समितिपुर पुगेका थिए ।
टीकापुर नगरपालिका वडा नम्बर–५ बाट बेपत्ता भएका ठगराम चौधरीका छोरा कमल चौधरीले बुवाको सासको आशा मरेको बताउदै लास भए पनि छिटै पाउने प्रतीक्षामा रहेको बताए । २० महिना अघि दक्षिण कोरिया गएका कमल बुवा भोटेकोशीको बाढीमा परेर बेपत्ता भएको खबर सुनेपछि नेपाल फर्किएका थिए । हरेक दिन शव फेला परेको सुन्दा मेरो बुवा पनि त्यसैमा हुनुहुन्छ कि जस्तो लाग्ने गरेको उनले बताए ।
पाँच जनाको दुई लाख १४ हजार हजार ४ सय ८७ रुपैयाँ पारिश्रमिक लेखिएको संयुक्त चेक पाएको बताउदै उनले आफ्नो ध्यान बुवाको खबर कतिबेला आउँछ भन्नेमा रहेको बताए । टीकापुर नगरपालिका शक्तिनगरका दिलबहादुर चौधरीकी श्रीमती यशोदा चौधरी पनि श्रीमान् बेपत्ता भएको पीडामा छिन । असार ३० गते रसुवा गभएका दिलबहादुरको डेढ महिनाको ज्याला भनेर उनले ६० हजार रुपैयाँ पाएकी छिन ।
अहिले ज्यालाको भन्दा पनि आफना मान्छेको खबर पाउन आतुर भएको उनले बताईन । त्यसैगरी कमैया शिविरका दीपक चौधरीकी श्रीमती मीना चौधरीले श्रीमानको खबर नपाउँदा अरू पाउने कुराको महत्व नहुने बताईन । पोखरा छिङहवा कन्स्ट्रक्सनले टिकापुरका ४७ जना कामदारले काम गरेको अवधिको १८ लाख ७६ हजार ५ सय ७३ रुपैयाँ आफ्नो खातामा हालिदिए पछि तिनका परिवारलाई बुझाउन आएको कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले बताए ।
यसरी ज्याला पाउनेमा १४ जना बाढीग्रस्त क्षेत्रबाट फर्केर आएका कामदार छन् भने ३३ जना बेपत्ता श्रमिकका परिवार छन् । बेपत्ता भएका २५ जना टीकापुर नगरपालिका, चार जना जानकी गाउँपालिका र चार जना बर्दियाको गेरुवा गाउँपालिकाका कामदार रहेका छन् । अहिले काम गरेको अवधिको निर्माण कम्पनीले दिएको तलब हो । कामदारको बिमा बाफतको रकमबारे कुरा भइरहेको बताईएको छ ।


