स्वस्थ जीवन सुखी र समृद्ध जीवनको आधार हो । मानिसको जीवनशैली पछिल्लो समय निकै व्यस्त र प्रविधिमैत्री बन्दै गएको छ । कामको व्यस्तता, लामो समयसम्म मोबाइल तथा कम्प्युटरको प्रयोग, अस्वस्थ खानपान र शारीरिक गतिविधिको कमीका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन् ।
यस्तो अवस्थामा नियमित व्यायामलाई जीवनशैलीको अभिन्न अंग बनाउनु आवश्यक छ । व्यायाम केवल शरीरलाई बलियो र आकर्षक बनाउनका लागि मात्र होइन, स्वस्थ र सक्रिय जीवन जिउनका लागि पनि महत्वपूर्ण हुन्छ । नियमित हिडडुल, दौड, योग, प्राणायाम, साइकल चलाउने, खेलकुद तथा अन्य शारीरिक गतिविधिले शरीरलाई सक्रिय राख्न सहयोग गर्छ ।
नियमित व्यायामले शरीरमा स्फूर्ति बढाउनुका साथै दैनिक काम गर्ने क्षमता र आत्मविश्वास समेत बढाउन मद्दत गर्दछ । आजको समयमा मानिसहरूले खानपानमा बढी ध्यान दिने तर शारीरिक गतिविधिमा कम ध्यान दिने गरेका छन । लामो समयसम्म निष्क्रिय बस्ने बानीले शरीरमा विभिन्न समस्या निम्त्याउन सक्छ ।
त्यसैले उमेर, स्वास्थ्य अवस्था र आफ्नो दैनिक दिनचर्या अनुसार उपयुक्त व्यायाम गर्ने बानी बसाल्नु जरुरी छ । व्यायामका लागि धेरै समय र खर्च आवश्यक पर्दैन । दैनिक केही समय छिटो हिड्नु, घरमै सामान्य कसरत गर्नु वा योग अभ्यास गर्नु पनि उपयोगी हुन सक्छ ।
व्यायामसंगै सन्तुलित खानपान, पर्याप्त आराम, स्वच्छ वातावरण र सकारात्मक सोचलाई पनि जीवनशैलीको हिस्सा बनाउनुपर्छ । बालबालिका, युवा, ज्येष्ठ नागरिक तथा कार्यालयमा लामो समय बस्नुपर्ने व्यक्तिहरूले आफ्नो क्षमता अनुसार नियमित शारीरिक गतिविधिमा जोड दिनुपर्छ ।
विद्यालय, कार्यालय, स्थानीय तह तथा विभिन्न सामाजिक संस्थाले पनि नागरिकलाई नियमित व्यायाम र स्वस्थ जीवनशैली प्रति सचेत बनाउन भूमिका खेल्नुपर्छ । स्वस्थ नागरिक नै स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माणका आधार हुन् । रोग लागेपछि उपचार खोज्नु भन्दा रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउनु बुद्धिमानी हुन्छ ।
त्यसैले आजैदेखि आफ्नो दैनिक जीवनमा व्यायामका लागि केही समय छुट्याऔ । नियमित व्यायाम गरौ, स्वस्थ रहौ र शारीरिक तथा मानसिक रूपमा सक्रिय जीवन बिताऔ । स्वास्थ्य हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले नियमित व्यायाम गरौ, शारीरिक रूपमा तन्दुरुस्त बनौ र स्वस्थ समाज निर्माणमा योगदान गरौ । नियमित व्यायाम गरौँ, शारिरीक रुपमा तन्दुरुस्त बनौ ।

