असोज ०४ बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा प्रचुर सम्भावना बोकेका तीन वटा फलामखानी उत्खनन हुन नसक्दा अलपत्र परेका छन । बैतडीको सिगास गाउँपालिका वडा नम्बर–१, सुगरखाल स्थित बल्लेकानामा पत्ता लागको फलामखानी र अन्य फलाम खानीको उत्खनन हुन नसक्दा अलपत्र परेका हुन ।
खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्रालिले प्रारम्भिक खोज तथा भौगर्भिक परीक्षणका क्रममा उच्च सम्भावना सहितको फलाम भण्डार फेला पारे पनि उत्खननको काम अघि बढ्न सकेको छैन । परीक्षणका क्रममा ३८ प्रतिशतसम्म ‘म्याग्नाइट आइरन’ पाइएको थियो ।
‘म्याग्नाइट ओर’ आधुनिक स्टिल र सिमेन्ट उद्योगका लागि निकै महत्वपूर्ण कच्चा पदार्थ मानिन्छ तर सम्भावना उच्च भए पनि खानी उत्खनन हुन नसकेको सिगास गाउँपालिका वडा नम्बर–१, का वडा अध्यक्ष रामचन्द्र ऐरीले बताए ।
खोज अनुसन्धान गर्ने कम्पनीका मानिस पनि पछिल्लो समय सम्पर्कमा नआएको उनले बताए । खानीक्षेत्र सामुदायिक वनक्षेत्रभित्र पर्ने भएकाले वन तथा वातावरण मन्त्रालयबाट जग्गा प्रयोग सम्बन्धी सहजीकरण नहुँदा थप प्रक्रिया अगाडि बढ्न नसकेको बुभिएको छ ।
पछिल्लो समय कम्पनीका प्रतिनिधि पनि वडा कार्यालयको सम्पर्कमा नआएको उनले बताए । स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच खानीसम्म पुग्ने पहुँचमार्ग निर्माण तथा विद्युतीकरणका लागि प्रभावकारी बजेट विनियोजन र ठोस समन्वय हुन सकेको वडा अध्यक्ष ऐरीले बताए ।
जिल्लाको पुरचौडी नगरपालिका र मेलौली नगरपालिका रहेका फलामखानीको पनि अवस्था उस्तै रहेको छ । कुनै समय उच्च गुणस्तरको फलाम पाइने पुरचौडी नगरपालिका वडा नम्बर–मल्लादेहीस्थित कालीढुङ्गा क्षेत्र अहिले पूर्ण रूपमा उपेक्षित छ ।
विगतमा फलाम निकाल्न खनिएका झन्डै चार सयभन्दा बढी ऐतिहासिक खाडल यत्रतत्र देख्न सकिन्छ । खानी बन्द भएपछि स्थानीयले ती २० मिटरसम्म गहिरा खाडललाई मरेका पशुचौपाया र फोहोर फाल्ने डम्पिङ साइटका रूपमा प्रयोग गर्न थालेका छन् ।
स्थानीय बासिन्दा हरिस साउदले विगत सम्झिँदै खानी चल्दा सयौँले गाउँमै रोजगारी पाएको बताए । कसैले फलाम खन्ने, कसैले प्रशोधन गर्ने त कसैले भाँडावर्तन तथा कृषि औजार बनाउने गरेको स्मरण गर्दे उनले अहिले त्यो सबै इतिहास बनेको बताए । खानी बन्द भएपछि युवा रोजगारीका लागि भारत तथा खाडी मुलुक जान बाध्य भएको उनले बताए ।


