भदौ २४ बाजुरा । बाजुराको खप्तडछेडेदह गाउँपालिका वडा नम्बर–४ की २६ वर्षीया कमला बोगटीले मंगलबार दिउँसो बाटोमै छोरालाई जन्म दिएकी छिन् । बुढीगंगा नगरपालिका वडा नम्बर–६, फालासैन बजारमाथिको बाटोमा सुत्केरी व्यथा लागेर छट्पटाइरहेकी कमलालाई स्थानीयको खबर पछि स्वास्थ्यकर्मीको टोलीले बाटोमै प्रसूति सेवा दिए पछि उनले छोलाई जन्म दिएकी हुन ।
बाजुरा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ईश्वरी केसीका अनुसार कमलालाई सुत्केरी व्यथा लागेपछि बाटोमा अलपत्र परेको अवस्थामा स्थानीयले स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । त्यसपछि बाजुरा स्वास्थ्य चौकी टाँटेका स्वास्थ्यकर्मी हस्त खडायत र ईश्वरी केसी तथा जिल्ला अस्पताल बाजुराकी नर्स निशा रोकाया सहितको टोली घटनास्थल पुगेको थियो ।
नर्स रोकायाका अनुसार आफु पुग्दा कमला प्रसव पीडाले छट्पटाइरहेकी थिइन् । आफनो सहयोगमा केही समयमै उनले बच्चा जन्माइन् । जन्मिए पछि बच्चाको अवस्था केही असहज रहे पनि करिब पाँच मिनेट पछि रोएको रोकायाले बताइन् ।
स्वास्थ्यकर्मीले बाटोमै सालनाल व्यवस्थापन गरी आमा र बच्चालाई बाजुरा स्वास्थ्य चौकीमा लगेका थिए । हाल आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको सिनियर अनमी ईश्वरी केसीले बताइन् । जिल्ला अस्पताल बाजुरामा कार्यरत नर्स निशा रोकाया बिदामा आफ्नो घर बुढीगंगा नगरपालिका वडा नम्बर–६, नुवाघर पुगेकी थिइन् ।
बिदा सकेर मार्तडी फर्किंदै गर्दा बाटोमा एक जना गर्भवती महिला सुत्केरी व्यथाले छट्पटाइरहेको जानकारी पाएपछि उनी सहयोगका लागि पुगेकी थिइन् । कमलाले बाटोमै बच्चा जन्माउनुको मुख्य कारण अन्धविश्वास रहेको स्वास्थ्यकर्मीले बताएका छन् । उनी कृष्ण जन्माष्टमी मनाउन भदौ १९ गते खप्तडछेडेदहबाट माइतीघर बडिमालिका नगरपालिका वडा नम्बरक–६, कोर्ध गाउँ पुगेकी थिइन् ।
भदौ २२ गते राति माइतीघरमै उनलाई सुत्केरी व्यथा लागेको थियो । विवाहित महिलाले माइतीघरमा बच्चा जन्माउनु हुँदैन र त्यसो गरे देवता रिसाउँछन् भन्ने रुढिवादी मान्यताका कारण कमला स्वास्थ्य संस्था जानुको सट्टा मंगलबार बिहान माइतीघरबाट आफ्नो घरतर्फ हिँडेकी थिइन् । उनी एक्लै घरतर्फ आउँदै गर्दा बाटोमै प्रसूति हुन पुगेकी हुन् ।
स्वास्थ्यकर्मीका अनुसार कोर्ध गाउँबाट करिब एक घण्टाको दूरीमा जडाङ्गा स्वास्थ्य चौकी र दुई घण्टाको दूरीमा जिल्ला अस्पताल बाजुरा रहेको छ । तर, अस्पताल जानुको सट्टा घरतर्फ हिँडेकी कमलाले करिब सात घण्टापछि अर्थात दिउँसो ३ बजे बुढीगंगा नगरपालिका क्षेत्रमा बाटोमै बच्चा जन्माएकी हुन् ।
स्थानीय रमेश रावतका अनुसार बच्चा जन्माए पछि कमलालाई अत्यधिक रक्तस्राव समेत भएको थियो । समयमै स्वास्थ्यकर्मी पुगेकाले आमा र बच्चालाई बचाउन सफल भएको उनले बताए । स्वास्थ्यकर्मीले कमला माइतीघरबाट सिधै स्वास्थ्य संस्था गएको भए बाटोमै बच्चा जन्माउनु पर्ने अवस्था नआउने बताएका छन् ।
बाजुरा लगायत कर्णाली र सुदूरपश्चिमका पहाडि जिल्लामा विवाहित महिलाले माइतीघरमा बच्चा जन्माए देवता रिसाउने भन्ने रुढिवादी सोच अझै कायम रहेको छ । कमला मात्र होइन, बाजुराका दुर्गम क्षेत्रमा धेरै महिला बाटोमै बच्चा जन्माउन बाध्य हुने गरेका छन् ।
स्वास्थ्य संस्था टाढा हुनु, प्रसूति व्यथा लागेपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने प्रवृत्ति तथा सामाजिक अन्धविश्वासका कारण यस्तो समस्या दोहोरिने गरेको स्वास्थ्यकर्मी बताउँ छन् । पत्रपत्रिकामा प्रकाशित समाचार अनुसार बाजुरामा असारयता मात्रै कम्तीमा पाँच जना महिलाले बाटोमै बच्चा जन्माएको तथ्यांक देखिएको छ ।


