भदौ २४ कञ्चनपुर । भारतीय बजारमा चिनीको मूल्य आकासिए पछि त्यसको प्रत्यक्ष असर सिमाबर्ती क्षेत्रका उपभोक्ता मारमा परेका छन । पछिल्ला केही सातायता भारतीय बजारमा चिनीको मूल्य बढेपछि सिमाबर्ती क्षेत्रका उपभोक्ता मारमा परेका हुन ।
भारतीय बजारबाट प्रतिकिलो ९० रुपैयाँमा खरिद गर्दै आएका उपभोक्ताले पछिल्लो समय मूल्यवृद्धिका कारण प्रतिकिलो १ सय ३० रुपैयाँसम्म खर्च गर्न बाध्य भएका छन् । बेलौरी नगरपालिका वडा नम्बर–३ का स्थानीय जग्गुराम डगौराले भारतबाट ल्याइएको चिनी स्थानीय पसलबाट प्रतिकिलो ९० रुपैयाँमा खरिद गर्दै आए पनि अहिले १ सय ३० रुपैयाँ तिर्नुपरेको बताए ।
स्थानीय लोकेन्द्र चौधरीले प्रतिकिलो ४० रुपैयाँ मूल्य बढेपछि चिनीको प्रयोग घटाएको बताए । भारतबाट ल्याइएको चिनी भन्सार तिरेर स्थानीय उपभोक्तालाई प्रतिकिलो ९० रुपैयाँमा उपलब्ध गराउँदै आए पनि अहिले मूल्यवृद्धिका कारण १ सय ३० रुपैयाँमा बिक्री गर्नुपरेको कलकत्ताका व्यवसायी मनीराम चौधरीले बताए ।
सुदूरपश्चिम प्रदेश भरी हाल कञ्चनपुरका दुई वटा स्थानमा चिनी मिल सञ्चालनमा रहेका छन । दररेट नमिलेकै कारण भारतबाट चिनी ल्याएर बिक्री गर्नुपर्ने बाध्यता रहेको स्थानीय व्यवसायीहरूले बताएका छन ।
विगतमा भारतीय बजारमा प्रतिकिलो ७० रुपैकयाँ पर्ने चिनी स्थानीय चिनी मिलबाट ९० रुपैयाँमा खरिद गर्नुपर्दा उपभोक्ताले नरुचाएकै कारण छिमेकी मुलुकबाट चिनी खरिद गरेर ल्याउनु पर्ने अवस्था रहेको व्यवसायी हरिस थापाले बताए ।
भारतीय बजारमा चिनीको मूल्य आकासिए पछि अहिले चिनीको माग समेत घट्दै गएको उनले बताए । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० का स्थानीय रमा साउदले विगतमा प्रतिकिलो १ सय रुपैयाँ पर्ने चिनी अहिले १ सय ४० रुपैकयाँमा खरिद गर्नुपरेको बताईन ।


