भदौ २४ धनगढी । विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय सेवाको भावना सहित आयोजित कार्यक्रममा १६ जना महिला र ३४ जना पुरुष गरी कुल ५० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा ८ जनाले जीवनमै पहिलोपटक रक्तदान गरेका थिए । रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्दै सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो । कार्यक्रमको विशेष आकर्षणका रूपमा पाँच दम्पतीले संयुक्त रूपमा रक्तदान गरेका छन् ।
रक्तदान गर्ने दम्पतीहरूमा हेमराज भट्ट–पुष्पा जोशी भट्ट, नवराज जोशी–भुवन जोशी, कर्णबहादुर ओली–सुमन पाल ओली, प्रकाश चन्द–चाँदनी शाही चन्द तथा गणेशबहादुर ढाँट–रविना रोकाया ढाँट रहेका छन् ।
रक्तदान कार्यक्रमको संयोजन पुष्पा जोशी भट्टले गरेकी थिईन । कार्यक्रममा विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश चन्द तथा राष्ट्रिय सचिव महेन्द्र राज पन्तको विशेष उपस्थिति एवं सक्रिय सहभागिता रहेको थियो ।
मानवीय सेवाका लागि रक्तदानको महत्त्वलाई उजागर गर्दै परिषद्ले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


