भदौ २४ धनगढी । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका कारण भत्केकोे कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्नो सबैभन्दा पुरानो प्रशासनिक भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरेको हो ।
राणाकालीन समयमा निर्माण गरिएको उक्त भवन गत वर्ष आन्दोलनकारीले आगजनी गर्दा पूर्ण रूपमा भत्केको थियो । भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सुब्बा राममूर्ति सिंहले जानकारी गराए । जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपछि विभागको टोली आएर भवनको भग्नावशेष अनुगमन, निरीक्षण समेत गरिसकेको उनले बताएका छन ।
अनुगमन पछि पुरातत्व विभागले पुरानै अवस्थाको भवन पुनर्निर्माण गर्नुपर्ने भन्दै गृह मन्त्रालयलाई प्रस्ताव गरेको उनले बताएका छन । भवनमा चन्द्रशमशेरको पालाको इँटा प्रयोग भएको पाइएको सुब्बा सिंहले बताए । भवन निर्माणमा काठ, इँटा र धुलो प्रयोग भएको थियो । भवन निर्माणमा सिमेन्ट प्रयोग भएको थिएन ।
त्यसको सट्टा धुलो प्रयोग गरिएको थियो । विभागले पनि काठ, इँटा र धुलो प्रयोग गरेर पहिलेको जस्तै निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ । राणा शासनका बेला कैलाली र कञ्चनपुरको गोश्वारा (प्रशासनिक केन्द्र) कञ्चनपुरको बेलौरीमा राखिएको थियो ।
विसं १९९७ मा त्यो गोश्वारा धनगढी सारिएको बताइन्छ । त्यस ताकाको गोश्वारा नै पछि जिल्ला प्रशासन कार्यालयमा परिणत भएको बताईन्छ । यद्यपी भवन कहिले बनेको हो भन्ने प्रमाण पुष्टि हुने कुनै पनि अभिलेख जिल्ला प्रशासन कार्यालयमा छैन ।
ऐतिहासिक भवनबाट जिल्ला प्रशासन कार्यालयले कैयौँ वर्षदेखि आफ्नो कामकाज गर्दै आएको थियो । नेपाल सरकारले पछि नयाँ भवन निर्माण गरेपछि जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरे पनि राष्ट्रिय परिचय पत्रको काम भने पुरानै भवनबाट हुने गरेको थियो ।
जेनजी आन्दोलनका समयमा आगजनीबाट भत्केको ऐतिहासिक भवन एक वर्षदेखि भग्नाअबशेष अवस्थामा रहेको छ । जिल्ला प्रशासन कार्यालयको पुरानो भवन कैलालीको ऐतिहासिक भवन रहेकाले यसको पुनर्निर्माण हुनुपर्ने आवाज नागरिकस्तरबाट पनि उठ्दै आएको छ ।


