जेठ ११ कञ्चनपुर । कञ्चनपुरको बेलौरी बजारमा मापदण्ड विपरीत सञ्चालित थल्केदार क्लिनिकलाई बन्द गरिएको छ । शनिवार औषधी व्यवस्था विभाग नेपालगन्जको टोलीले क्लिनिकलाई बन्द गरेको हो । क्लिनिक मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै औषधि व्यवस्था विभागको कार्यालयमा उजुरी परेको थियो ।
सोही उजुरीको आधार निरीक्षण गर्दा मापदण्ड नपुगेको देखिए पछि बन्द गरिएको औषधि व्यवस्था विभाग कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक दिनेश प्रसाद न्यौपानेले जानकारी गराए । निरीक्षण गर्दा क्लिनक दर्ता भएको कुनै आधार नभेटिएको बताउदै उनले उजुरी आए पछि निरीक्षण गर्दा उजुरीकर्ताको उजुरी बमोजिम नै भेटिएको न्यौपानेले बताए ।
क्लिनिक दर्ता छ वा छैन भन्ने निश्चित नभएको,दर्ताको सक्कल प्रमाणपत्र,बोर्डहरु,बिल,सम्बन्धित परिसरबाट इजाजत लिएको पनि नदेखिएको उनले बताए ।
निरीक्षण पश्चात् आधार प्रमाण प्रयाप्त नभएका कारण क्लिनिक शिलबन्दी गरिएको न्यौपानेले बताए । क्लिनिकबाट अभिलेख नराखिएका,म्याद नाघेका औषधिहरु समेत जफत गरिएको बताउदै उनले क्लिनिक संचालकलाई बिभागमा सक्कल कागजात सहित उपस्थित हुन पत्र दिइसकेको बताए ।

