जेठ ११ धनगढी । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ लाम्पाटामा कुटपिट र लुटपाट गर्ने २३ जना बिरुद्ध उजुरी दर्ता गरिएको छ । यही जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालीका वडा नम्बर २ थलीका स्थानीयले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य लगायत ब्यक्तीहरुलाई निर्घात कुटपिट गर्ने २३ जना बिरुद्ध उजुरी दर्ता गरिएको हो ।
खार्पुनाथ गाउँपालीका वडा नम्बर–२ थालीका देवराज रावल, किशोर रावल, चन्द्रबहादुर रावल, रामदत्त रावल, सुन्दर जेठारा, माने जेठारा, वीर रावल, लोकेश रावल, कालजङ्ग रावल, गगन रावल, मेख रावल, ज्ञानेन्द्र शाही, शेर रावल, जया रावल, बुद्धि रावल, बृख रावल, कैलाश रावल, परेलाल रावल, करे रावल, लामा रावल, शङ्कर रावल, शान्त रावल र सिद्ध कार्की गरी २३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी गराएका हुन ।
बाजुराको लाम्पाटा पुगेका करिब तीन सय जनाको समूहले स्थानीयलाई कुटपिट गर्दै उनीहरुको घरमा लुटपाट समेत गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए । वडा सदस्य पेमागारा गुरुङ सहित पाँच जनालाई बन्धक समेत बनाएको अध्यक्ष मल्लले बताए । हुम्लाबाट आएको समूहले स्थानीयको घरमा लुटपाट गर्दै वन्यजन्तु र जडिबुडी तस्करी गरेको कागज समेत तयार गर्दै जेठ ८ गते भित्र लाम्पाटा छोड्ने उर्दी जारी गरेको बताए ।
हुम्लाबाट आएको समूहले लाम्पाटाका स्थानीयलाई कुटपिट गर्दै जेठ ६ गतेसम्म बन्धक समेत बनाएको दाबी गरिएको छ । उक्त घटनामा संलग्न भएका र पहिचान खुलेका २३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता भएको हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी गराए । जिल्ला प्रहरी कार्यालय बाजुराले पनि २३ जना व्याक्तिको नाममा उजुरी दर्ता भएको जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेश शाहीले लाम्पाटा घटनामा संलग्न भनिएका २३ जना विरुद्ध आइतवार नै उजुरी दर्ता भएको जानकारी गराएका हुन ।
लाम्पाटा क्षेत्रमा पुगेर विवाद सिर्जना गर्नुका साथै कुटपिट, लुटपाट र धम्कीपूर्ण गतिविधिमा संलग्न भएको आरोपमा मुद्धा दर्ता गरिएको उनले बताए । घटनाका क्रममा केही पत्रकारको सञ्चार सामग्री समेत तोडफोड गरिएको तथा भिडियो सामाग्री मेटाउन लगाइएको बताइएको छ । यसअघि नेपाल पत्रकार महासंघले समेत प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरी सकेको छ ।
महासंघले समाचार संकलनमा खटिएका पत्रकारमाथि आक्रमण, सञ्चार सामग्री तोडफोड र धम्की दिने कार्य प्रेस स्वतन्त्रता माथिको गम्भीर हस्तक्षेप भएको जनाउदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । जेठ ३ गते भएको घटनामा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा नलिएको प्रति हिमाली युवा सञ्जालले आपत्ति जनाएको छ । जल्ला प्रहरी कार्यालय हुम्लाले भने लाम्टा घटनामा संलग्न भएकाहरुको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको जनाकारी गराएको छ ।


