जेठ ०७ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
छ दिन देखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर–१ की १९ वर्षीया ललिता नेपालीको बिहिबार सेनाको हेलिकप्टरमार्फत उद्धार गरीएको हो । जिल्ला प्र्रशासन कार्यालय बाजुराले उनको उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जानकारी गराएको हो ।
कोल्टीमा सुत्केरी हुन आएकी नेपालीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपछि सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी गराए ।
कोल्टी आधारभूत अस्पतालमा गर्भवतीको अवस्था थप जटिल भएको पत्र आएपछि महिला, बालबालिका मन्त्रालयको समन्वयमा थप उपचारका लागि सुर्खेत पठाइएको उनले बताए ।
दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेना मार्फत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


