जेठ ०७ धनगढी । जलवायु परिवर्तनका कारण वर्षेनी आउने बाढीले वर्षे धान खेतीमा क्षति पु¥याउन थालेपछि कैलालीको भजनी क्षेत्रका किसानहरूले चैते धान खेतीलाई प्राथमिकता दिन थालेका छन् । वर्षायाममा मोहना, पथरैया, काढा र कान्द्रा नदीमा आउने बाढीका कारण धानबाली नष्ट हुने समस्या बढ्दै गएकाले किसानहरूले वर्षे धानको सट्टा चैते धान खेतीलाई प्राथमिकता दिन थालेका हुन ।
भजनी नगरपालिका वडा नम्बर–८ का किसान जयराज ढुंगानाले बाढीका कारण वर्षे धानबाट निरन्तर क्षति भएपछि करिब एक दशक अघि देखि चैते धान खेती सुरु गरेको बताए । उनले अहिले पाँच बिघा क्षेत्रफलमा चैते धान खेती गर्दै आएको जानकारी गराए । वर्षायाममा जमिन बाँझो राख्नुको सट्टा किसानहरूले हिउँदमा तोरी तथा गहुँ खेती गर्ने र त्यसपछि फागुन देखि चैते धान रोप्ने गरेका छन् । असार सुरु हुनुअघि नै धान भित्र्याउन सकिने भएकाले बाढीबाट हुने जोखिम कम भएको किसानहरूले बताएका छन ।
भजनी नगरपालिका वडा नम्बर–३ की शर्मिला चौधरीले वर्षे धान पटक–पटक बाढीले बगाए पछि आफ्नो परिवारले पनि चैते धान खेती सुरु गरेको बताइन् । अहिले गाउँका अधिकांश किसान चैते धान खेतीतर्फ आकर्षित भएको उनले बताइन् । भजनी नगरपालिकाका कृषि अधिकृत सुशोभन अधिकारीले नगरपालिकाका अधिकांश वडामा गरी १ हजार २ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा चैते धान खेती भइरहेको बताए । बाढी प्रभावित क्षेत्रमा चैते धान खेती किसानका लागि “बोनस खेती” जस्तै बनेको उनले बताए ।
कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले सिँचाइ सुविधा भएका क्षेत्रमा चैते धान खेती अतिरिक्त आम्दानीको स्रोत बन्दै गएको बताए । चैते धानको उत्पादन प्रतिहेक्टर ६० क्वीन्टल सम्म पुग्ने गरेको उनले बताए । स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र तथा सिँचाइ आयोजनाले किसानलाई बीउ, सिँचाइ मोटर, पम्पसेट, कृषि यन्त्र र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।
यद्यपि किसानहरूले डिजेल महँगो हुनु, मलखाद अभाव, पर्याप्त सिँचाइ सुविधा नहुनु तथा उत्पादित धानको उचित मूल्य नपाउने समस्या अझै रहेको बताएका छन् । किसानहरूले चैते धान सुकाउने ड्रायर मेसिन तथा बजार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । जलवायु तथा विपद् विज्ञ डा. धरमराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा चैते धान खेती जलवायु अनुकूलनको प्रभावकारी उपाय बनेको बताए । उनले बाढी जोखिम भएका अन्य क्षेत्रमा समेत सिँचाइ विस्तार गरेर चैते धान खेती प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए ।


