बैशाख ०३ धनगढी । कैलालीको टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक आएर रेकर्ड तोडिएको छ । २०८३ सालको पहिलो दिन पर्यटक आगमन र प्रवेश शुल्क दुवैले रेकर्ड तोडेको हो ।
टीकापुर नगरपालिकाको पार्क शाखाका प्रमुख अर्जुन कुँवरले यस वर्ष एकैदिन १४ हजार ८ सय ३१ जना पर्यटकले पार्क प्रवेश गरेको बताउदै सात लाख ७० हजार १ सय ६० रुपैयाँ राजस्व र्सकलन भएको बताए । २०८२ साल वैशाख १ गते पाँच लाख रुपैयाँ राजस्व उठेको बताउदै उनले यस बर्ष एकै दिनले रेकर्ड तोडेको बताए । पार्कमा भिड बढेपछि दिउँसो २ बजेपछि बाटो अवरुद्ध भएको र पार्क प्रवेश नपाई अर्को बाटो भएर फर्किनु परेको टीकापुरका स्थानीय लोकबहादुर बुढाले बताए ।
रानी कुलामा सिङ्गल लेन पुल मात्रै भएकाले पार्क जाने पर्यटकले एक घण्टा भन्दा बढी जाममा पर्दा अत्यास लागेको बुढाले बताए । नगरपालिकाको राजस्व शाखाका प्रमुख नन्दबहादुर केसीले पार्कबाट उठ्ने राजस्व बर्षेनी बढ्दै गएको बताए । ‘आर्थिक वर्ष २०८०÷८१ मा ६४ लाख उठेको जानकारी गराउदै उनले आर्थिक वर्ष २०८१÷८२ मा ९३ लाख ४४ हजार रुपैयाँ राजस्व उठेको जानकारी गराए । यस वर्ष नौ महिनाको अवधिमा एक करोड आठ लाख रुपैयाँ राजस्व उठिसकेको उनले जानकारी गराए ।
पार्कमा प्रवेश शुल्क प्रतिव्यक्ति ५० रुपैया भएको बताउदै उनले पार्कको सुन्दरता, ऐतिहासिकता र सँगैको कर्णाली नदीमा जलविहारले आर्थिक तथा पर्यटकीय सम्भावना देखाएको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले टीकापुर पार्कमा १४ करोडको डिपिआर बनाई सङ्घीय सरकारलाई अनुरोध गरिएको बताए । पार्किङ, बाल उद्यान र पुराना भवनको मर्मत गर्नुपर्ने बताउदै उनले केन्द्रबाट बजेट आएमा पार्क विस्तार पनि हुने बताए ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सिकार खेल्न पुगेका तत्कालीन राजा महेन्द्रको विसं २०२४ साल चैत २४ मा आकस्मिक हृदयाघात भएपछि काठमाडौँ फर्किने क्रममा राजा चढेको हेलिकोप्टर टीकापुरमा आकस्मिक अवतरण गर्नु् परेको बताइन्छ । घना जङ्गलका बिचमा एक महिना बसेर स्वास्थ्य लाभ भएपछि पार्कका रूपमा विकास गर्न निर्देशन दिएको बताइन्छ । महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम वाटिका, उद्यानमा ५० भन्दा बढी प्रकारका गुलाब रहेको र सँगैको कर्णाली नदीमा चलाइने वाटरबोट लगायतका कारण पर्यटक आकर्षित भइरहेको उनले जानकारी गराए ।

