बैशाख ०३ धनगढी । कैलालीमा लागू औषध, आत्महत्या र दुर्घटनाको एक महिनाको तथ्याङकले अवस्था भयावह देखाएको छ । प्रहरीले बुधवार सार्वजनिक गरेको चैत्र महिनाको तथ्याङकले अवस्था भयावह देखाएको हो । चैत्र महिनामा लागू औषध सहित १ जना महिला र ५३ जना पुरुष गरी ५४ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्याङकले देखाएको छ ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले उनीहरूलाई ३७ वटा मुद्दामा पक्राउ गरिएको जानकारी गराएका हुन । उनीहरूको साथबाट २५ ग्राम ४८ मिलिग्राम चरेस, ५२ ग्राम ६ सय ३० मिलिग्राम खैरो हिरोइन , १ ग्राम २ सय ८० मिलिग्राम गाँजा र ४४ ट्याब्लेट बरामद गरिएको उनले जानकारी गराए । प्रहरीको प्रगति विवरण अनुसार अपराधका २ सय ३ वटा मुद्दा, जघन्य तथा गम्भीर अपराधका ७३ वटा मुद्दा दर्ता भएका छन् ।
त्यसैगरी चालु मुद्दामा १ सय ९२ जनालाई पक्राउ गरिएको छ भने ५८ जनालाई पक्राउ पर्न बाँकी रहेको छ । प्रगति विवरणमा सार्वजनिक चासो रहेका पेण्डिङ मुद्दा ९४ वटा रहेकोमा ४ वटा फछ्र्यौट भएको उल्लेख गरिएको छ । त्यसैगरी फैसला कार्यान्वयनका क्रममा ६९ जनालाई पक्राउ गरी १५ वर्ष कैद र ७ लाख ६७ हजार ५ सय १५ रुपैया जरिवाना असुल गरिएको विबरणमा उल्लेख गरिएको छ । त्यसैगरी कैलाली जिल्लामा आत्महत्याको अवस्था पनि भयावह देखिएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा २८ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन् । जसमा २५ जनाले झुन्डिएर र ३ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा पुरुषको सङ्ख्या बढी रहेको छ । उक्त अवधिमा १४ जना पुरुष १० जना महिला १ जना बालक र ३ जना बालिकाले आत्महत्या गरेर ज्यान गुमाएको प्रहरी नायक उपरीक्षक तिमिल्सिनाले जानकारी गराए ।
ज्यान गुमाउनेमा १० देखि २० वर्ष उमेर समूहका ६ जना, २१ देखि ३० वर्ष उमेर समूहका ११ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ६, ४१ देखि ५० वर्ष उमेर समूहका १ र ५० भन्दा माथिका ४ जना रहेका छन् । त्यसैगरी कैलालीमा एक महिनाको अवधिमा ७५ वटा सवारी दुर्घटना भएका छन् । जसमा प्रहरीले ६६ वटा दुर्घटना चालकको कारणले भएको विश्लेषण गरेको छ ।
त्यसैगरी सवारी साधनका कारण १ वटा, यात्रुका कारण ६ वटा र चौपायाका कारण २ वटा सवारी दुर्घटना भएको प्रहरी नायक उपरीक्षक तिमिल्सिनाद्धारा जारी प्रगति विवरणमा उल्लेख गरिएको छ । दुर्घटनामा ९५ वटा सवारी साधन संलग्न रहेकोमा ११ जनाले ज्यान गुमाएका छन् भने १ सय ४ जना घाइते भएका छन् ।
दुर्घटनामा १ सय १५ जनाको प्रहरीले उद्धार गरेको छ । एक महिनाको अवधिमा १ हजार ३ सय ३३ वटा सवारी धनीलाई कारवाही गरी ११ लाख २ हजार ५ सय राजश्व सङ्कलन गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । प्रहरीले एक महिनाको अवधिमा राजश्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा ५२ लाख ४३ हजार ३ सय २० रुपैयाँ बराबरको सामान र २ जनालाइ पक्राउ गरेको छ ।
प्रहरीले दुर्घटना रोक्नका लागि जनचेतनाका कार्यक्रममा जोड दिएको छ । प्रहरीको तथ्याङ्कमा एक महिनाको अवधिमा २ सय ३९ वटा जनचेतनाका कार्यक्रम गरिएको छ ।
जसमा लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणका ५४ वटा, ट्राफिक नियमका २७ वटा, आत्महत्या रोकथाम तथा न्यूनीकरणका २७ वटा, लैङ्गिक हिंसा न्यूनीकरणका ७ वटा, बालविवाह न्यूनीकरणका २२ वटा, साइबर अपराध सम्बन्धीका २७ वटा र अन्य विविध ७५ गरी २ सय ३९ वटा जनचेतनाका कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीको चैत्र महिनाको प्रगती विबरणमा उल्लेख गरिएको छ ।
प्रहरीले उक्त अवधिमा ४ हजार २ सय ९ वटा प्रहरी गतिविधि गरेको छ भने जसमा पिकेट १ हजार ५ सय ९०, चेकिङ ९ सय ६०, ग्रामीण गस्ती ५ सय १०, एसआरपी १ हजार २ सय ३० रहेको प्रगती विबरणमा उल्लेख गरिएको छ । प्रहरीले एक महिनाको अवधिमा जिल्लामा २१ वटा आन्दोलन विरोधका कार्यक्रम भएको समेत विबरणमा उल्लेख गरेको छ ।


