बैशाख ०३ धनगढी । कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थालेका छन् । चालु आर्थिक वर्षमा १९ टोल विकास संस्थाले निर्माण उपभोक्ता समिति मार्फत नगरको पूर्वाधार विकासमा काम गर्न थालेका हुन । टोल विकासमा टोलकै नागरिक जिम्मेवार बनाउने उद्देश्यले पालिकाले हरेक टोलमा टोल विकास संस्था गठन गरी संस्थालाई पालिकामा दर्ता गर्ने र विकास निर्माणका कार्यमा उनीहरुको सहभागिता बढाउन थाले पछि टोल विकास संस्थाले काम गर्न थालेका हुन ।
टीकापुर नगरपालीका वडा नम्बर–१ ले सडक ग्राभेल र माटो पटानी जस्ता निर्माणका कामको जिम्मा टोल विकास संस्थालाई दिएको छ । निर्माण उपभोक्ता समितिको जिम्मा टोल विकास संस्थालाई दिएर सम्झौता गरी काम अघि बढेको नगरपालिकाले जनाएको छ । विगतमा उपभोक्ता समिति गठन गर्ने, उपभोक्ता समिति मार्फत गरेका कामको दिगोपनामा समस्या हुने भएपछि टोल विकास संस्थालाई स्थानीय विकासमा अपनत्व हुने, नियमन गर्न पनि सहज हुने भएकाले निर्माण कार्य गुणस्तरीय हुने ठानेर विकासका कार्यमा सहभागिता गराएको वडा नम्बरं १ का सवइन्जिनियर गम्भीरसिंह साउँदले जानकारी गराए ।
पालिकामा कार्यविधि बनाएर विकास निर्माणका कार्यमा जुन टोलमा हुँदैछ, त्यहाँकै टोल विकास संस्थालाई उपभोक्ता समितिको जिम्मा दिन थालेको उनले बताए । टोल विकास संस्थाले गरेका काम गुणस्तरीय बन्ने गरेका छन् । टोलकै नागरिकले विकास गर्ने, उनीहरुले नै निगरानी गर्ने भएपछि सहज भएको उनले बताए । टीकापुर नगरपालिकामा स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तीकरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
नागरिकका अधिकार सुनिश्चित र समावेशी सहभागिता प्रवद्र्धन, पारदर्शी र उत्तरदायी शासन प्रणाली प्रवद्र्धन, संस्थागत सुदृढीकरण र स्रोत परिचालनमा टोल विकास संस्थाको क्षमता अभिवृद्धिका लागि नगरपालिकामा पालिका, पालिका र सहकर्मी समाज मिलेर काम गरिरहेको उनले बताए । टीकापुरमा २ सय ६२ वटा टोल विकास संस्था गठन भएको उनले बताए । पालिकामा २ सय ९ वटा दर्ता भएको उनले बताए । अन्य दर्ताकै पक्रियामा रहेको संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले जनाकारी दिइन् ।
वडा नंम्बर १ मा मात्रै १ सय ८ वटा टोल विकास संस्था रहेको उनले बताईन । त्यसैगरी ९ वटा वडा सञ्जाल समेत गठन भएको उनले बताईन । टोल विकास संस्थाको हरेक महिना बैठक बस्ने र बैठकमा टोलका समस्या, आवश्यकता पहिचान गरिने उनले बताईन । टोल विकास संस्था योजना निर्माण प्रक्रियामा सहभागी हुने, योजना माग गर्ने र कार्यान्वयन गर्ने कार्यमा सहभागी हुन थालेको उनले बताईन । सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जैशीले यी संस्थामा १२ हजार ९ सय ६२ घरधुरी समेटिएको बताए ।
टोल विकास संस्थाले विकास, सुशासन र पारदर्शितामा राम्रो अभ्यास गरिरहेको उनले बताए । एक सय १४ वटा टोल विकास संस्थाले बैंकमा खाता खोलेर कारोबार गरिरहेको उनले बताए । टोल विकास संस्थामा काम गर्दा महिलाको नेतृत्व विकासमा सघाएको बताउदै उनले महिलाहरु अहिले आफ्नो ठाउँको विकासका कार्यमा सहभागी हुने, विकास आयोजना माग गर्न थालेको बताए । टोल विकास संस्थाले समूहमा बचत, ऋण लगानी जस्ता कार्य गरिरहेको उनले बताए ।
पालिकाले टोल विकास संस्थालाइ सामुदायिक सहयोगी तालिम, कोष तथा लेखा व्यवस्थापन तालिम दिने गरिएको उनले बताए । पालिकाका अनुसार टीकापुरमा आत्मनिर्भर भएका वा आफैँ चल्नसक्ने संस्था ८० छन् भने अन्य संस्थाको क्षमता विकासमा पालिकाले सघाउने गरेको छ । समुदायमा गठन भएका टोल विकास संस्थाले समस्या विश्लेषण, योजना निर्माण पनि गर्ने गरेको उनले बताए । टोल विकास संस्थाले तीन वर्षमा ९ सय ५६ वटा योजना निर्माण गरेको बताउदै उनले जसमा ७ सय ७२ योजना कार्यान्वयन भएको बताए ।
टोल विकास संस्थाले श्रमदान मार्फत एक करोड ३० लाख लागत बढीको विकास निर्माणको काम गरेको जैसीले बताए । त्यसैगरी पालिकाले योजना छनौट गर्दा योजना छनौटका चरणमा सहभागी भएर बस्तीस्तरमा एक हजार ५ सय ८४ वटा योजना माग गरेको बताउदै उनले जसमा पालिकाबाट १ सय ४२ वटा योजना सम्बोधन भएको बताए । त्यसैगरी टोल विकास संस्थाले माग गरेका वा टोल विकास संस्था भएका ठाउँमा उपभोक्ता समिति मार्फत गरिने काममा संस्थालाई विकासका काम गर्न पालिकाले अवसर दिने गरेको सिर्जनशील टोल विकास संस्थाका अध्यक्ष गोपाल चौधरीले बताए ।
टोल विकास संस्थाले समुदायमा आर्थिक सशक्तीकरण र सामाजिक सहभागितामा सुधार गरेको बताउदै चौधरीले टोल विकास संस्थाका सदस्यहरुको सूचनामा पहुँच वृद्धि भएको बताए । विकास तथा विपद् व्यवस्थापनमा सहभागिता वृद्धिमा सहयोग भएको बताउदै उनले टीकापुरमा गठन भएका संस्थाले टोल सरसफाइ, वृक्षरोपण, बाटो संरक्षण, जीविकोपार्जन तथा आय आर्जनका कार्यसंगै वचत गर्ने बानीको विकासमा सहभागिता बढाएको बताए ।


