माघ १८ कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा राजनीतिक दलहरूले आफ्नो साङ्गठनिक उपस्थिति र प्रचार अभियानलाई वडा तहसम्म विस्तार गर्दै गएका छन् । राजनीतिक दलहरूले निर्बाचनका लागी सम्पर्क कार्यालय स्थापना गर्दे घरदैलो कार्यक्रम गरी प्रचार अभियानलाई वडा तहसम्म विस्तार गदै गएका हुन ।
मुख्य प्रतिस्पर्धी दलहरूले सम्पर्क कार्यालय स्थापना, वडा संयोजकको नियुक्ति तथा घरदैलो अभियानलाई तीव्र बनाउदै गएपछि निर्बाचनको माहोल उत्साहजनक बन्दै गएको छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका प्रमुख दलहरूले तीनवटै निर्वाचन क्षेत्र अन्तर्गत रहेका नौ वटै स्थानीय तहका ९२ वटै वडामा सम्पर्क कार्यालय खोलेर प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बरं २ का सभापति करनसिंह ऐरले तीनवटै निर्वाचन क्षेत्रका वडा तहमा प्रचार प्रसार कार्यालय उद्घाटन गरी अभियान अघि बढाएको बताए ।
चुनावी अभियानलाई तल्लो तहसम्म व्यवस्थित बनाउन महासमिति सदस्य देखि तरुण दल र क्रियाशील सदस्यहरूलाई परिचालन गरिएको बताउदै उनले कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नंम्बर १ मा गोपिप्रसाद उपाध्याय, निर्वाचन क्षेत्र नम्बरं २ मा पूर्वमन्त्री एनपी साउद र निर्वाचन क्षेत्र नंम्बर ३ मा हरिप्रसाद बोहरा उम्मेदवार रहेको जानकारी गराए ।
नेकपाले पनि वडागत संयन्त्र र प्रचार प्रसार कार्यालय स्थापना गरी अभियानलाई तीव्र बनाएको प्रचार प्रसार उपसमितिका संयोजक महेशदत्त जोशीले जानकारी गराएका छन ।
नेकपाका तर्फबाट निर्वाचन क्षेत्र नंम्बर १ मा पूर्वमन्त्री बिना मगर, निर्वाचन क्षेत्र नंम्बर २ मा माधवप्रसाद पन्त र निर्वाचन क्षेत्र नम्बरं ३ मा मान बहादुर सुनार उम्मेदवार रहेको उनले जानकारी गराए ।
त्यसैगरी, नेकपा (एमाले)ले पनि वडा तहसम्म चुनावी संयन्त्र गठन विस्तार गरी प्रचार प्रसार अघि बढाएको छ । एमाले जिल्ला सदस्य जगतबहादुर सिंहले उम्मेदवारलाई जिताउन कार्यकर्तालाई जिम्मेवारी सहित परिचालन गरिएको जानकारी गराए ।
एमालेका तर्फबाट निर्वाचन क्षेत्र नम्बरं १ मा तारा लामा तामाङ, निर्वाचन क्षेत्र नंम्बर २ मा बचन बहादुर सिंह र निर्वाचन क्षेत्र नम्बरं ३ मा डा दीपक प्रकाश भट्ट उम्मेदवार रहेका छन् ।
तीनवटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दलहरू र नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । रास्वपाले उम्मेदवार सहितको घरदैलो अभियानलाई निरन्तरता दिँदै युवाहरूलाई सङ्गठित गरेर प्रचार प्रसारलाई तीव्र बनाएको छ ।
रास्वपाका तर्फबाट निर्वाचन क्षेत्र नम्बरं १ मा जनकसिंह धामी, निर्वाचन क्षेत्र नम्बरं २ मा दीपकराज बोहरा र निर्वाचन क्षेत्र नम्बरं ३ मा ज्ञानेन्द्रसिंह महता उम्मेदवार रहेका छन् ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने वडा वडामा मतदातासँग समूहगत अन्तक्र्रिया तथा छलफल गर्दै चुनावी एजेन्डा प्रस्तुत गरिरहेको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई अगाडि बढाएका छन् ।
यस पटकको निर्वाचनमा सबै राजनीतिक दलहरूको मुख्य ध्यान युवा मतदातातर्फ केन्द्रित भएको देखिएको छ । बेरोजगारी समस्या समाधान, गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा आधारित विकासका एजेन्डा प्रस्तुत गर्दै उम्मेदवारहरूले युवालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।
नेकपा निर्वाचन क्षेत्र नंम्बर २ का उम्मेदवार माधवप्रसाद पन्तले “युवाले परिवर्तन चाहेको बताउदै युवाहरुको भविष्यसँग जोडिएका योजनामा पार्टीको ध्यान केन्द्रित भएको बताए । आफू पनि युवा भएकाले युवाका मागलाई शिरोधार्य गर्दै अघि बढिरहेको उनले बताए ।
चुनावी सरगर्मी बढेसँगै कञ्चनपुरका चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डाबारे बहस सुरु भएको छ । वडा तहमा स्थापना गरिएका सम्पर्क कार्यालयले मतदातालाई उम्मेदवारसँग सिधा संवाद गर्ने वातावरण बनाएको स्थानीय मतदाताले बताएका छन ।
कञ्चनपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमध्ये ४४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।


