माघ १० कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । शुक्रवार निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनाव चिह्न प्रदान गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ अनुसार अन्तिम नामावलीमा नाम कायम रहेका उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय मार्फत चिह्न प्रदान गरिएको हो । जिल्लाका तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि ुकुल ५५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि हुन् भने ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । उम्मेदवारी दर्ता गराएका मध्ये कुनै पनि प्रतिस्पर्धीले नाम फिर्ता नलिए पछि सबै उम्मेदवारको प्रतिस्पर्धा कायम भएको हो । निर्वाचन क्षेत्र नम्बरं १ मा प्रतिनिधिसभा सदस्य पदका लागि १५ दल र चार स्वतन्त्र गरी १९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार स्वतन्त्र उम्मेदवार अनिल रानालाई क्यामेरा, रुपादेवी विष्टलाई चेसगोटी, मञ्जुदेवी सुनारलाई तिलहरी र यादव सिंहलाई झोला निर्वाचन चिह्न प्रदान गरिएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बरं २ मा पनि १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार १५ जना दलका र चार जना स्वतन्त्र उम्मेदवारलाई चिह्न वितरण गरिएको छ । निर्वाचन क्षेत्र नम्बरं २ मा स्वतन्त्र प्रतिस्पर्धी सिद्धराज जोशीले भँगेरा, हरिशबहादुर भट्टले कैँची, वीरेन्द्र रानाले सिरिन्ज र भानुभक्त बोहराले आँप निर्वाचन चिह्न प्राप्त गरेका छन् ।
त्यसैग री निर्वाचन क्षेत्र नम्बरं ३ मा १७ जनाको उम्मेदवारी कायम भएको छ । तीमध्ये १४ जना दलका र तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्रतर्फ थानेश्वर लेखकलाई डस्टबिन, वीरबहादुर क्षेत्रीलाई आँप र हर्कबहादुर ऐरलाई जीप निर्वाचन चिह्न प्रदान गरिएको छ ।
निर्वाचन चिह्न प्रदान गरिएसँगै उम्मेदवारहरू आफ्नो चुनावी एजेण्डा सहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । चिह्न सुनिश्चित भएपछि जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी छलफल र प्रचार प्रसारका गतिविधिले तीव्रता पाएको छ ।


