पौष १६ कञ्चनपुर । कञ्चनपुरका दुई वटा पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दिएका हुन् । चिसो अझै केही दिन रहने सम्भावना भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको बेदकोट नगरपालिकाले जनाएको छ ।
मौसम प्रतिकूलताका कारण विद्यार्थीको पठन पाठनमा बाधा भइरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस १६ देखि पुस १९ गते सम्म पालिकास्थित विद्यालयहरूमा जाडो बिदा दिइएको शिक्षा शाखा प्रमुख हरिदत्त भट्टले बताए । विद्यालयहरूले नियमानुसार पाउने बाँकी हिउँदे बिदाबाट कट्टी हुने गरी पालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बुधबार देखि पुस १९ गतेसम्म जाडो बिदा दिइएको उनले जानकारी गराए ।
पुस लागेदेखि सुरु भएको कठ्याङ्ग्रिँदो चिसोले तराई क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । चिसो बढ्दा बालबालिका, वृद्धवृद्धा, अशक्त र विपन्न वर्गका मानिस बढी प्रभावित बनेका छन् । त्यसैगरी, भीमदत्त नगरपालिकाले पनि पुस १९ गतेसम्म पालिकास्थित विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पालिकाले सूचना जारी गर्दै बुधवारदेखि नगर स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएकाले पुस १९ गतेसम्म प्रतियोगिता अवधिभर विद्यालयहरूमा बिदा दिइएको जनाएको छ ।
शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले खेलकुद अवधिभर निजी तथा सार्वजनिक सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिएको बताए । साथै, खेल प्रतियोगितामा भाग लिन, अवलोकन गर्न र अनुशासित भएर खेलहरूका असल पक्षहरूको सिकाई अनुसरण गर्ने तथा खेलकुद प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालनमा सहयोग गर्न समेत उनले सबैमा आग्रह गरेका छन ।


