चैत्र ३० डडेल्धुरा । डडेल्धुरामा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ । विक्रम संवत् २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ साल देखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्य सहित सङ्ग्रहालय मार्फत पुराना सामग्री सङ्कलन र संरक्षण गर्ने उदेश्यले डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको हो ।
पछिल्लो समय ग्रामीण समाजमा प्रयोग हुँदै आएका परम्परागत सामग्रीहरू क्रमशः लोप हुँदै गएका छन । बजारको विस्तार, आधुनिक जीवनशैलीको प्रभाव र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण घरघरमा रहेका पुराना वस्तुहरू हराउँदै गएको अवस्थालाई मध्यनजर गर्दै पुस्तकालयले हराउँदै गएका सामग्रीहरू एकै ठाउँमा सुरक्षित राख्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरेको पुस्तकालयका कार्यालय प्रमुख पुष्करबहादुर देउवाले जानकारी गराए ।
पुर्खाहरूले प्रयोग गरेका सामग्रीहरू सुरक्षित राख्दै भावी पुस्तालाई आफ्नो मौलिक पहिचानसँग परिचित गराउन संग्राहलयको स्थापना गरिएको उनले बताए । पुराना लुगा, गरगहना, दैनिक प्रयोगका सामग्री तथा परम्परागत हतियारहरू क्रमशः हराउँदै गइरहेकाले ती सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राख्ने काम अघि बढाइएको उनले बताए ।
सङ्ग्रहालयमा हाल विभिन्न प्रकारका परम्परागत सामग्रीहरू राखिएको बताउदै कृषिसँग सम्बन्धित हलो, जुवा, नाम्लो, दाम्लो जस्ता उपकरणहरू देखि निगालो र बाँसबाट बनेका डालो, सुप्पो, भकारी जस्ता अन्न भण्डारणका सामग्रीहरू राखिएको उनले बताए । सामग्रीहरूले पुरानो कृषि प्रणाली र ग्रामीण जीवनशैलीको झल्को दिने गरेको बताउदै उनले गुन्यूचोलो, पैसाको माला, अठन्नी–चौअन्नी जस्ता गहनाहरूले विगतको सामाजिक र सांस्कृतिक अवस्थालाई झल्काउने गरेको बताए ।
अमरगढी नगरपालिका वडा नम्बर–५ का कामदेव ओझाले विवाह संस्कारसँग सम्बन्धित डोली, जाँतो, ढिक्की तथा समय मापनका लागि प्रयोग हुने घडीपला जस्ता सामग्रीहरू पनि सङ्ग्रहालयमा राखिएको र तिनले पुरानो पुस्ताको जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने बताए । सङ्ग्रहालय स्थापना गर्ने अवधारणा २०७३ सालमा अघि सारिएको र सुरुआती चरणमा डिभिजन वन कार्यालयको सहयोगमा काम सुरु गरिएको पुस्तकालयका अध्यक्ष गजेन्द्र साहीले बताए ।
त्यसपछि अमरगढी नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको बताउदै उनले पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिबाट समेत केही सामग्री प्राप्त भई सङ्ग्रहालय थप समृद्ध बन्दै गएको बताए । सङ्ग्रहालयका लागि सामग्री सङ्कलन गर्ने कार्य अझै जारी रहेको उनले बताए । गाउँ–गाउँमा पुगेर पुराना सामाग्री खोज्ने, आवश्यक परे मूल्य तिरेर ल्याउने तथा स्वेच्छिक रूपमा प्राप्त सामग्रीहरूलाई दाताको नाम सहित सङ्ग्रहालयमा राख्ने अभ्यास गरिएको उनले बताए ।
सामाग्री सङ्कलनका क्रममा केही चुनौतीहरू पनि देखिएको बताउदै देउवाले पछिल्लो समय व्यापारीहरूले स्टिल र प्लास्टिकका भाँडाकुँडासँग साटेर पुराना कासा र तामाका भाँडाहरू लैजाने प्रवृत्ति बढेकाले यस्ता सामग्रीहरू तीव्र रूपमा हराउँदै गएको बताए । जसले गर्दा सङ्ग्रहालयका लागि आवश्यक सामग्री सङ्कलन गर्न झन् कठिन भएको उनले बताए । आगामी दिनमा अझ धेरै सामग्री संकलन गरी सङ्ग्रहालयलाई विस्तार गर्ने योजना बनाएको उनले बताए ।


