कार्तिक ०९ बैतडी । बैतडीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै गएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै गएको हो ।
जिल्ला निर्वाचन कार्यालयले बैतडीले मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै गएको जनाएको हो । गत असोज ९ गते देखि अहिले सम्म ३ सय १ जनाले मतदाता नामावलीमा नामदर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी गराए ।
मतदाता नामावलीमा नाम दर्ता गर्नेमा युवा उमेर समूहका नागरिक बढी रहेको उनले जानकारी गराए । कात्तिक २८ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जोशीले बताए । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार बैतडीमा १८ बर्ष पूरा भएका १ लाख ५४ हजार २ सय १६ जना मतदाता रहेका छन् ।
जसमध्ये ७६ हजार ८ सय ३४ जना महिला, ७७ हजार ३ सय ८० जना पुरुष र अन्य दुई जना रहेका छन् । गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा बैतडीमा एक लाख ५० हजार १ सय ५६ जना मतदाता रहेका थिए । उक्त निर्वाचनमा ७८ हजार ३ सय ६९ (५२ प्रतिशत) मत खसेको थियो ।
अघिल्लो प्रतिनिधि सभा निर्वाचन भन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ने देखिएको छ । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् ।


