सुदूरपश्चिम प्रदेशका अधिकाश पहाडी जिल्लामा अहिले पनि छाउपडी प्रथा कायमै रहेको छ । हरेक बर्ष छाउपडी भएकै कारण गोठ र पालमुनी बस्दा ज्यान गुमाउनु परेका थुप्रै उदाहरणहरु छन । घटना घटेपछि सरकारी स्तरबाट छाउपडी गोठहरु भत्काउने अभियान पनि चलाएर गोठहरु पनि भत्काउने गरिएको छ । तर पनि छाउपडी प्रथा हटेको छैन ।
अहिले पनि छाउप्रथाको अन्त्य हुन सकेको छैन भन्ने हामी सबैलाई जानकारी छ । महिलाहरु देउदा रिसाउने डरले अहिले पनि छाउगोठमा बस्न बाध्य छन । उनिहरुको देउता रिसाउने डरलाई कुनै अस्त्रले हटाउन नसकनु दुखद विषय हो । गोठ भत्काउने सरकारी गैरसरकारी अभियानले उनिहरुलाई पीडा दिने काम मात्र ग¥यो । तर छाउपडी सोचलाई भत्काउन नसक्दा अहिले पनि छाउप्रथाको अन्त्य हुन सकेको छैन ।
गोठ भत्काएर छाउपडी प्रथाको अन्त्य हुदैन भन्ने कुराको पुष्टि भई सकेको छ । छाउपडी अन्त्यका लागी परम्पराबादी सोच छाउपडी मानसिकतालाई भत्काउन जरुरी छ । बर्षौ देखि मनभित्र जकडीएको देउताको डर मेटाउन जरुरी छ । सरकारी स्तरबाटै छाउपडी सोच बदल्ने गरी कार्यक्रम र योजना बनाउन जरुरी छ । गोठ भत्काउदा महिलाहरुले दुख पाउने काम मात्र भएको छ ।
उनीहरु ढुक्क भएर घर भित्र बस्न नसकेर अहिले पनि कष्टमयी जीवन जीउनु परेको छ । स्थानीय सरकारका जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको अगुवाइमा छाउगोठ भत्काए पनि फेरि छाउगोठ बनाएर महिलाहरु किन बस्न थाले यसको खोजीनिति गर्ने हो भने देउता रिसाउने प्रमुख कारण देखिन्छ ।
त्यसैले मानसिक रूपमा चेतनाको विकास भएन भने छाउपडी गोठमात्र भत्काएर केही हुदैन । तसर्थ रुढीग्रस्त मानवीय सोच भत्काउन जरुरी छ । छाउगोठ मात्र नभई छाउपडी मान्ने संकिर्ण सोच र चेतना भत्काउने अभियान सुरू गर्न आवश्यक छ । छाउपडी प्रथाको अन्त्य गर्न गोठ मात्र भत्काएर नहुने भएकाले संकिर्ण सोच र छाउपडी मानसिकता भत्काउन योजना र कार्यक्रम बनाउन जरुरी छ ।

