भदौ १३ धनगढी । सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष धनगढीले विपन्न बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उदेश्यले ६० करोड २९ लाख २५ हजार रकम प्रवाह गरेको छ ।
दुई हजार ९ सय १६ जना लक्षित युवायुवतीलाई स्वरोजगार बनाउने उदेश्यले कोषको छनौटमा परेका सुदूरपश्चिमका ९ वटै जिल्लाका ९९ वटा सहकारी मार्फत स्वरोजगार विकास कोषले उक्त रकम प्रवाह गरेको हो ।
लगानी रकम मध्ये हाल सम्म कोषले व्याज असुल आम्दानी ११ करोड ४७ लाख ९६ हजार ३ सय २४ रुपैया गरिसकेको कोषका सुदूरपश्चिम प्रदेश उपकार्यकारी निर्देशक तथा सूचना अधिकारी पविन्द्र शाहीले जानकारी गराए ।
उनले संचालक समितिबाट स्वीकृत रकम ६१ करोड ८८ लाख २५ हजार भएको बताउदै प्रवाह रकम ६० करोड २९ लाख २५ हजार रहेको जानकारी गराए । यो कार्यक्रम सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका ३७ वटा पालिकामा संचालन भइरहेको उनले बताए ।
हरेक ३ महिनामा सहकारीले कारोबारको प्रतिवेदन कोषमा पेस गर्नु पर्ने प्रावधान रहेको बताउदै उनले एक जना बेरोजगार व्यक्तिले व्यवसाय गर्न ३ लाख सम्मको रकम लिन पाउने व्यवस्था गरिएको बताए ।
पहिलो किस्ता ५० प्रतिशत त्यसपछि सदुपयोगिता प्रतिवेदन,फिल्ड अनुगमन भेरीफाई पछि दोस्रो किस्ता उपलब्ध गराइने गरेको उनले बताए । ऋण रकमको अवधि ५ बर्षको हुने बताउदै उनले सहकारीले प्रवाह भएको रकमको १ प्रतिशत व्याज कोषलाई दिने जानकारी गराए ।
सहकारीले बरोजगार युवायुवतीलाई ऋण रकमबाट ५ प्रतिशत ब्याज लिने गरेको बताउदै उनले कर्जा दुरुपयोग भएका ७८ जनाको रकम फिर्ता भएको र ४४ जनाको लगानी फिर्ता असुल भएको बताए ।
अहिले दुई हजार सात सय ९४ जनामा लगानी गरिएको उनले बताए । व्यवसायीक खेती गरेका एक हजार ३ सय ३९,ईलेक्ट्रोनिक्स÷ईलेक्ट्रिकल २ सय ७,साना तथा घरेलु व्यवसायमा २ सय २५, परम्परागत सीप स्थानीय स्रोत साधन प्रयोगमा ११ र स्थानीय बजारमा प्रचलन रहेका व्यवसाय गरेका एक हजार १२ जनामा उक्त रकम लगानी भएको उनले बताए ।
कोषको स्थापना २०७७ माघ १ गते भएको र २०७९ पुस १२ गतेबाट संचालनमा आएको उनले बताए । कोष संचालनमा आइसके पछि १ हजार ५ सय ५५ जनालाइ सचेतना कार्यक्रम गरिएको र ८ सय ८३ जनाले व्यवसायमुलक तालिम लिएको उनले बताए ।
गत आर्थिक बर्षमा कोषले व्यवसायिक बाख्रापालनका लागि ३०, अचार बनाउने ३०,फाष्टफुड सम्बन्धिको तालिम २९ जनालाई दिएको उनले बताए ।
त्यस्तै, बंगुरपालनका ३० र फोटो÷ भिडियो ग्राफीका २४ व्यवसाय सचेतना तथा व्यवसाय सुरु तालिम ३४ जनालाई र धनगढी उपमहानगरपालिकाले संचालन गरेको स्वरोजगार मेलामा मोटरसाइकल मर्मत ३६, मोटरसाइकल मर्मत २२ जनालाई,ईलेक्ट्रिकल गाडी मर्मत सम्बन्धि २५ जनालाई तालिम दिएको उनले जानकारी गराए ।

