भदौ १० कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–६ कसरौलकी कन्यादेवी रानाको आम्दानीको मुख्य स्रोत दुना टपरी बनेको छ । पछिल्लो चार वर्षदेखि दुनाटपरी बनाउने व्यवसायमा संलग्न रहदै आएकी रानाको आम्दानीको मुख्य स्रोत दुना टपरी बनेको हो ।
दैनिक जीवनयापनका लागि सुरु गरिएको व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको रानाले बताईन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत गठित सुनदेवी मध्यवर्ती उपभोक्ता समितिको सहयोगमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएको रानाले बताईन । समितिले अवलोकन भ्रमण, आधारभूत तालिमसँगै दुनाटपरी बनाउने मेसिन र डाई खरिदका लागि करिब सात लाख रुपैया सहयोग गरेको उनले बताईन ।
दुनाटपरी बनाउन आवश्यक कच्चापदार्थ सालका पातका लालझाडीका स्थानीय बासिन्दाबाट खरिद गर्दै आएको रानाले बताईन । एउटा लाफाको मूल्य ५० पैसा देखि २ रुपैयाँ सम्म पर्ने बताउदै उनले केही सालका पात नागेश्वर सामुदायिक वनबाट सङ्कलन गरी ल्याइने गरिएको जानकारी गराईन । मासिक ४० हजार बराबरका लाफा मात्रै खरिद हुने गरेको बताउदै उनले पातका तयार गरिएका लाफा तथा पात ल्याएर सुकाइने गरिएको उनले बताईन ।
त्यसपछि मेसिनमा राखेर आवश्यकता अनुसारका दुनाटपरी तयार गर्दै आएको उनले बताईन । बनाइएका दुनाटपरी एक रुपैयाँ देखि पाँच रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताउदै रानाले पाँच प्रकारका दुनाटपरी उत्पादन गर्ने गरेको बताईन ।
विवाह, व्रतबन्ध, पूजाआजा जस्ता धार्मिक तथा सांस्कृतिक काममा दुनाटपरीको माग बढी हुने बताउदै उनले अन्य समयमा अलि कम हुने बताईन । दुनाटपरी प्रायः ५० र १ सयको प्याकेटमा तयार गरेर बजारमा पु¥याइने उनले बताईन ।
महिनामा खर्च कटाएर ३० हजार जति कमाइ हुने गरेको बताउदै उनले माग धेरै भए पनि पात अभावका कारण उत्पादन बढाउन नसकिएको बताईन । सामुदायिक वनले चाहेजति पात सङ्कलन गर्न अनुमति नदिँदा उत्पादन सीमित मात्रामा हुने गरेको उनले बताईन । ् रानाले बनाएका दुनाटपरी महेन्द्रनगर, धनगढी, डडेल्धुरा र अत्तरिया सम्म बिक्री हुने गरेका छन ।
त्यस्तै, स्थानीय पूजा सामग्री बेच्ने व्यवसायीले समेत ठूलो मात्रामा खरिद गर्ने गरेको उनले बताईन । पोखरा र काठमाडौँ सम्मबाट समेत दुनाटपरीको अर्डर आएको बताउदै उनले कच्चापदार्थको अभावले पठाउन नसकेको बताईन । रानाले आफ्नै घरमा मेसिन प्रयोग गरेर दुनाटपरी तयार गर्ने गरेके बताईन ।
तयार भएको दुनाटपरी बजार सम्म पु¥याउने, पात र लाफा खरिद गर्ने काममा उनका श्रीमान् रतनलाल रानाले सहयोग गर्ने गरेको उनले बताईन । उद्योगलाई अझ विस्तार गर्न सकिने बताउदै उनले कच्चापदार्थकै समस्या भएको बताईन । सामुदायिक वनसँग निरन्तर समन्वय गरेर आवश्यक पात उपलब्ध गराउने प्रयास भइरहेको उनका श्रीमान रतनलालले बताए ।
दुनाटपरी उत्पादन व्यवसायको अवसर धेरै भए पनि कच्चापदार्थ अभावले ठूलो चुनौती थपीएको उनले बताए । उत्पादन बढाउन सकिने अवस्था भएमा पात सङ्कलन गर्ने, लाफा तयार गर्ने र सिन्का बनाउने स्थानीयलाई रोजगारी दिन सकिने उनले बताईन ।
सुनदेवी उपभोक्ता समितिका कोषाध्यक्ष हबलदार चौधरीले दुनाटपरीलाई प्लास्टिकको विकल्पका रूपमा प्रयोग गरिनुपर्ने बताए । स्थानीय तहले प्लास्टिकयुक्त प्लेट लगायतका वस्तुको निषेध गरी वातावरण मैत्री दुनाटपरीलाई प्रवद्र्धन गर्न आवश्यक भएको उनले बताए ।
प्लास्टिकमुक्त क्षेत्र घोषणा भए दुनाटपरी उद्योगलाई अगाडि बढाउन सकिने बताउर्दै उनले वातावरण स्वच्छ हुने मात्र नभएर स्थानीयलाई रोजगारी पनि दिन सकिने बताए ।
समितिले दातृ निकायसँग समन्वय गरी उद्योगलाई थप व्यवस्थापन गर्न सहयोग जुटाउने प्रयास गरिरहेको उनले बताए । सामुदायिक वनसँग पात सङ्कलनमा सहजता ल्याउन सहमति भएको उनले जानकारी गराए ।


