साउन १२ अछाम । अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गते देखि सञ्चालन हुने भएको छ । प्रादेशिक अस्पताल सञ्चालन सम्बन्धी कानून बनेर प्रदेश राजपत्रमा प्रकाशित भएसँगै भदौ १ गते देखि बयालपाटा सञ्चालन हुने भएको हो । प्रदेश सरकारले अस्पताललाई आफ्नो मातहतमा ल्याउने निर्णय गरेपछि सञ्चालनमा आउने भएको हो ।
५० शय्याको रुपमा अस्पताल सञ्चालन हुने बताए । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको निरन्तर पहलले अस्पताल सञ्चालनमा आउन थालेको जानकारी गराईएको छ । मन्त्री खड्काले चुनावी घोषणा पत्रमा उल्लेखित प्रमुख प्रतिवद्धतामा बयलपाटा अस्पतालको दिगो र स्थायी व्यवस्थापन रहेको बताउदै उनले अहिले कार्यान्वयनको चरणमा प्रवेश गर्ने बताए ।
७० प्रतिशत कर्मचारी बयालपाटा अस्पतालमा कार्यरतलाई नियुक्त गरिने छ भने बाँकी ३० प्रतिशत खुल्ला प्रतिष्पर्धा मार्फत पदपूर्ति गरिने सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै, सरोकारवालाको मागलाई सम्बोधन गरी बयालपाटाको दीर्घकालीन व्यवस्थापन गर्न प्रदेश सरकार खासगरी मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले महत्वपूर्ण कदम चाल्दै निर्णय गराउन सफल भइएको उनले बताए ।
नेपालको संविधानले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने मौलिक हकको प्रत्याभूति गरेको छ । नेपालको संविधानको धारा ३५ ले ‘स्वास्थ्य सम्बन्धी हक’लाई मौलिक हकका रूपमा मान्यता दिएको छ । उक्त धाराको उपधारा (१) मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सम्बन्धी आधारभूत सेवा राज्यबाट निःशुल्क प्राप्त गर्ने हक हुने छ ।
त्यसैगरी उपधारा (२) मा ‘प्रत्येक नागरिकलाई सम्मानजनक जीवनयापनको लागि स्वास्थ्य बीमा गराउने राज्यको दायित्वहुने छ । यलपाटा अस्पतालको दिगो व्यवस्थापनको यो निर्णय संविधानको उक्त प्रावधानलाई व्यवहारमा उतार्ने दिशातर्फको ठोस कदम मानिएको छ ।
विशेष गरी सुदूरपश्चिमका दुर्गम क्षेत्रका सीमान्तकृत र पिछडिएका वर्गका जनताका लागि सहज, गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व हो, जसमा प्रदेश सरकारले गम्भीरता देखाएको छ । बयलपाटा अस्पताल विगत १७ वर्षदेखि ‘न्याय हेल्थ’नामक गैर–नाफामूलक संस्थाको साझेदारीमा सञ्चालित थियो ।
यस अवधिमा अस्पतालले अछाम मात्र नभई बाजुरा, बझाङ, डोटी लगायत कर्णाली प्रदेशका पहाडी जिल्लाका हजारौं नागरिकलाई गुणस्तरीय निःशुल्क सेवा प्रदान गर्दै आएको छ । तर केहि वर्ष यता आर्थिक असहजताका कारण संस्थालाई अस्पताल सञ्चालन गर्न कठिन भइरहेको अवस्था थियो ।
समयमै स्थायी वैकल्पिक समाधान खोजिएको नभए, अस्पताल बन्द हुने अवस्था सिर्जना हुन सक्ने उनले बताईन । संवेदनशील घडीमा मन्त्री खड्काले मन्त्रालय स्तरीय तथा मन्त्रिपरिषद पहल गर्दै अस्पताललाई सरकारी स्वामित्वमा ल्याउने प्रक्रिया अगाडि बढाए ।
स्वास्थ्य सेवा राज्यको उत्तरदायित्व मात्रै नभई जनताको विश्वास र जीवन रक्षासँग पनि जोडिएको विषय भएको उनले बताए । मन्त्री खड्काको पहलले स्थानीय जनताको स्वास्थ्य प्रति देखिएको गम्भीर अभावलाई सम्बोधन गर्नुका साथै सरकार जनता प्रति उत्तरदायी हुँदै गएको संकेत दिएको छ ।
केवल भौतिक पूर्वाधार मात्र नभई गुणस्तरीय सेवा दिने संरचना निर्माण गर्न खोजेको बताउदै मन्त्री खड्काले बयलपाटा अस्पताल प्रदेश मातहत ल्याएर हामीले संविधानले तोकेको दायित्व र जनताको अपेक्षा दुबै पूरा गर्न खोजेको उनले बताए । बयालापाटा अस्पताल अब प्रदेश सरकारको ५० शय्याको अस्पतालका रुपमा सञ्चालन हुने भएको हो ।
जुन प्रदेशकै चौथो र सुदूर पहाडमा पहिलो हुने उनले बताए । प्रदेश सरकार मातहत आएपछि अस्पतालमा जनशक्ति, औषधि, उपकरण, विशेषज्ञ सेवा तथा मातृशिशु स्वास्थ्य,आकस्मिक सेवा, सर्जरी सेवा लगायतका थप सेवा विस्तार गरिने उनलदे जानकारी गराए ।
साथै, स्वास्थ्यकर्मीको कार्य सम्पादन मूल्याङ्कन, पारदर्शी व्यवस्था र अनुगमन प्रणाली पनि सुदृढ गरिनेछ । स्थानीयवासी, जनप्रतिनिधि, नागरिक समाज र स्वास्थ्यकर्मीहरूले यो निर्णयलाई दीर्घकालीन र दूरदर्शी कदमको रूपमा लिइरहेका छन् ।
उनीहरूको विश्वास छ, अब बयलपाटा अस्पताल सुदूरपश्चिम प्रदेशको नमुना स्वास्थ्य संस्थाको रूपमा स्थापित हुने छ ।
संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको मौलिकहक लाई व्यवहारमा उतार्ने प्रयास स्वरूप बयलपाटा अस्पतालको यो संरचनात्मक रुपान्तरण केवल एक संस्थाको हस्तान्तरण मात्र नभई सुदूरपश्चिमका लाखौं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने ऐतिहासिक कदम बनेको छ ।


